×

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका ८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका ६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैंडाले आक्रमण गरेको थियो ।

गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । रेग्मी सौराहाको जङ्गल वल्र्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए ।

रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले निकुञ्ज घुम्न गएका पर्यटक सकुशल रहेको बताउनुभयो । गैँडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो ।

“निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउने गाइडलाई आक्रमण गरेको घटना बिरलै हुने गरेको छ”, तिवारीले भन्नुभयो, “नयाँ वर्षको दिन दुःखद् घटना भयो ।” मृतक रेग्मीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।रासस

 

 

तपाईको प्रतिक्रिया