
गैँडाकोट । नवलपरासी(बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको माघ मसान्त सम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउन देखि माघ सम्म जिल्लामा एक सय ९७ जना पुरुष र ८७ जना महिला गरी दुई सय ८४ जना नयाँ क्षयरोगी पहिचान भएको जनाइएको छ । नयाँ क्षयरोगी मध्य २.८ प्रतिशत बालबालिका रहेका छन् ।
साउन देखि माघ सम्म जिल्लामा भेटिएका क्षयरोगी मध्य १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य सात जना पुरुष र तीन जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टाराईले बताउनु भयो । “जिल्लामा अहिले दुई सय ८४ जना क्षयरोगीले औषधी सेवन गरिरहनु भएको छ”, उहाँले भन्नु भयो, “औषधी सेवन गरिरहेका क्षयरोगी मध्य १० जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीय रूपमा उपचार भइरहेको छ ।”
जिल्लामा भेटिएका क्षयरोगी मध्य सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४ जना, गैँडाकोट नगरपालिकामा ६२ जना, देवचुली नगरपालिकामा ५१ जना, मध्यविन्दु नगरपालिकामा ३९ जना र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् । यसै गरी हुप्सेकोट गाउँपालिकामा २८ जना, बुलिङटार गाउँपालिकामा सात जना र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चार जना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताउनु भयो ।
जिल्लामा देखिएका क्षयरोगीहरूमध्ये ९४ दशमलव चार प्रतिशत रोगीको सफल उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताउनु भयो । “जिल्लामा गत आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० मा पाँच सय ४६ जनामा क्षयरोग भेटिदा २१ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा पाँच सय २९ क्षयरोगी भेटिदा १९ जनाका मृत्यु भएको थियो”, उहाँले भन्नु भयो,“आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा चार सय १६ जनामा क्षयरोग देखिएकोमा १८ जनाको मृत्यु भएको थियो ।”
क्षयरोगको उपचारका लागि जिल्लामा ६६ डट्स केन्द्र रहेको फोकल पर्सन तिवारीले बताउनु भयो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डीआर(ड्रक रेसिस्टेन्ट) होस्टेल रहेको छ । जहाँ चितवन जिल्लाका सात जना, नवलपरासी(बर्दघाट सुस्तापूर्व) र तनहुँका एकरएक जना गरी १० जना डीआर क्षयरोगीहरूको आवासीयरुपमा उपचार भइरहेको छ । “चालु आर्थिक वर्षको माघ सम्म १७ जनामा डीआर क्षयरोगीहरू भेटिएका छन् । जस मध्य चितवनका ११ जना, नवलपरासी९बर्दघाट सुस्तापूर्व०का चार जना, तनहुँ र पाल्पाका एक एक जना डीआर क्षयरोगी परीक्षणबाट पुष्टि भएका छन्”,उहाँले भन्नु भयो ।
गण्डकी प्रदेशमा डीआर होस्टेल नवलपरासी(बर्दघाट सुस्तापूर्व) सँगै बागलुङ र कास्की जिल्लामा रहेका छन् । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा नौ सय ४५ डट्स केन्द्र रहेको छ । “जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गइरहेको छ”,फोकल पर्सन तिवारीले भन्नु भयो,“समयमै उपचार गराएमा पूर्ण रूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।”
क्षयरोग एक सरुवा रोग हो । जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एक जना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने तिवारीले बताउनु भयो । बहु औषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको समेत उहाँले बताउनु भयो ।
विश्वका आठ वटा देशमा मात्र क्षयरोगका दुई तिहाइ बिरामीहरू रहेका छन् । जस मध्य २८ प्रतिशत भारत, ९।२ प्रतिशत इन्डोनेसिया,७।४ प्रतिशत चीन, ७ प्रतिशत फिलिपिन्समा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ ।
नेपालमा गत आर्थिक वर्ष २०७९/८० मा ३७ हजार चार सय ४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा रहेको छ । नेपाल सरकारले क्षयरोग निवारणको लागि आर्थिक वर्ष २०७७–७८ मा दुई सय ३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकोमा आर्थिक वर्ष २०८२र८३ सम्ममा एक सय ८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य लिएको छ।