×

गैँडाकोट-अनलाईन प्रणाली मार्फत नागरिकता सिफारिस गर्नका लागि पूर्वी नवलपरासीको गैँडाकोटमा वडा सचिवहरुलाई तालिम प्रदान गरिएको छ ।यहि चैत्र १५ गतेदेखि नेपालमै पहिलोपटक गैँडाकोट नगरपालिकाबाट अनलाईन मार्फत नागरिकता सिफारिसको तयारी भएपछि त्यसलाई प्रभावकारी बनाउन वडाका सचिवहरुलाई तालिम प्रदान गरिएको हो ।

गैँडाकोट नगरपालिकाको आयोजना तथा गृहमन्त्रालयको संयोजनमा भएको तालिममा गैँडाकोट नगरपालिका भित्रका १८ वटै वडाका वडा सचिव तथा सहायक कर्मचारीहरुको सहभागिता रहेको थियो ।नागरिकता सिफारिस अनलाईन मार्फत कसरी गर्ने , आवश्यक कागजातलाई कसरी अपलोड गर्ने, सच्याउनु परे कसरी सच्याउने लगायतका विभिन्न प्राविधिक विषयमा तालिममा जानकारी गराइएको थियो ।

तालिममा आफ्ना भनाई राख्दै गृहमन्त्रालयका कम्प्युटर अधिकृत सुर्दशन न्यौपानेले कामलाई सहज बनाउन तथा कार्यालयबाट हुने नागरिकता सिफारिसको सहित तथ्याकं राख्न लागि मन्त्रालयले अनलाईन मार्फत नागरिकता सिफारिसको प्रणालीको विकास गरेको बताउनु भयो ।उहाँले नेपालमै पहिलोपटक गैँडाकोट नगरपालिकाबाट ऐतिहासिक कामको थालनी भएको भन्दै गैँडाकोट नगरपालिका र यहाँका सेवाग्राहीहरु भाग्यमानी भएको बताउनुभयो ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्मा, प्रशासन शाखाका गिता पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन र सहजीकरण सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखा प्रमुख देवेन्द्र बहादुर कुमालले गर्नुभएको थियो ।
तालिममा मन्त्रालयका कम्प्युटर अपरेटर राजकुमार चौधरी र डेभलपर सुरज मर्हजन र रोहित श्रेष्ठले अनलाईन प्रणालीको प्राविधिक पक्षका विषयमा प्रकाश पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया