×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको नगरकै एकमात्र “क” बर्गको स्कुल गैँडाकोट ईङ्लिस स्कुलमा अध्ययनरत ८५ जना बिद्यार्थीहरु स्काउट दीक्षित भएका छन्। १२ महिने लामाे तालिम पश्चात उनीहरूलाई एक समारोहवीच शनिबार दीक्षित गरिएको हो। दीक्षित हुनेहरुमा ४१ जना छात्र र ४४ जना छात्रा रहेका छन्।

स्कूलमा आयोजित एक विशेष समारोहमा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता तथा गैँडाकोट नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखाका प्रमुख डा.बालकृष्ण चापागाईको विशेष आतिथ्यतामा विद्यार्थीहरुलाई दीक्षित गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले दीक्षित भएका सबै विद्यार्थीहरुलाई बधाई व्यक्त गर्नुभयो ।उहाँले आगामी दिनमा सिकेका सिपलाई व्यवहारमा उतार्न विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि डा. बालकृष्ण चापागाइले स्काउटले विद्यार्थीहरुलाई अनुशासनमा रहन सिकाउने बताउनु भयो । उहाँले गैँडाकोट इङ्लिस स्कुल नगरको एकमात्र “क” बर्गको स्कुलको रुपमा परिचय बनाउन सफल भएको भन्दै आगामी दिनमा समेत स्कुलको स्तरलाई खस्कन नदिन विद्यालयका शिक्षक तथा व्यवस्थापन टिमलाई सकृयता पूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्कुलका स्काउट शिक्षक शिवप्रसाद बरालले स्काउटले बिद्यार्थीलाई शारीरिक ,मानसिक र सामाजिक रुपमा अव्वल बनाउन भूमिका खेल्ने बताउनुभयो। त्यस्तै स्काउटका राष्ट्रिय प्रशिक्षक जनार्दन ढकालले स्काउटरहरु सबैको भलो चाहने र आफु पनि सधैं अव्वल रहने हुँदा सबै बिधालयहरुले बिद्यार्थीलाई स्काउट तालिममा सहभागी हुन प्रेरित गर्न आग्रह गर्नुभयो।

प्राचार्य हिरालाल अर्यालले स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण र सञ्चालन विद्यालयका शिक्षक जिवन दवाडीले गर्नुभएको थियो ।कार्यक्रमका स्काउटका विद्यार्थीहरुले मार्चपास गर्नुका साथै स्काउट गित तथा कौडा नृत्य समेत प्रस्तुत गरेका थिए । दिक्षान्त समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम नारायण भण्डारीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया