सालिकराम कोइराला
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को प्रस्तावित नमूना सदरमुकाम ‘नवलपुर’ निर्माण हुने कुरामा शंका उत्पन्न भएको छ।राज्यले प्रयाप्त बजेट नछुट्याएका कारण निर्माण कार्य काम ठप्प भएको हो। निर्माणले गति नलिंदा स्थानीयवासी सदरमुकाम बन्ने कुरामा सशंकित भएका छन्।
१६ अर्व २५ करोड ५४ लाखको लागतमा कावासोती नगरपालिका-३ मा संघीय सरकारका १५ कार्यालय, गण्डकी प्रदेश सरकारका ११ र स्थानीय तहका २ वटा कार्यालय भवन निर्माण हुने प्रस्तावित योजना रहेको छ। त्यस्तैगरि कर्मचारी आवास गृह, पुस्तकालय र अन्य गरि जम्मा ५१ वटा प्रमुख भवनहरू र थुप्रै पूर्वाधार सोहि ठाउँमा बन्ने शहरी विकास तथा भवन निर्माण विभागले जानकारी गराएको छ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नमूना सदरमुकामको शिलान्यास आजभन्दा ४ वर्ष अघि २०७६ वैशाख ७ गते गरेका थिए। नवलपुर-२ का पूर्व संघीय सांसद तिलक महतले नमूना सदरमुकामको अवधारणा अघि बढाएका थिए। उनले केपी ओलीको क्याबिनेटबाट स्थानीय ज्योतिकुञ्ज सामुदायिक वनको १ सय ८६ बिगाहा जग्गाको प्रमाण पुर्जा नवलपुर सदरमुकामको नाममा दिने निर्णय गराएका थिए। महतकै पहलमा सदरमुकामका सडकहरू डिजाइन र ग्राभेल समेत भएका थिए। हाल आएर सबै निर्माण कार्य ठप्प छ।

सदरमुकाम परियोजनाका ई आई ए टिम लिडर रेडियम अधिकारीका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पास नभएका कारण आयोजना क्षेत्रभित्र पर्ने ६ सय ८२ रूख कटान गर्न सकिएको छैन। जसका कारण सडक कालोपत्रे गर्ने काम अलपत्र परेको छ। यसका अलावा खानेपानी, विजुली जस्ता पुर्वाधार समेत व्यवस्थापन गर्न सकिएको छैन। कामको गति यति सुस्त छ कि आगामी आर्थिक वर्षमा समेत एउटा मात्रै भवन बन्ने संभावना पनि देखिएको छैन।
संघीय सरकारले नमुना सदरमुकामलाई प्रयाप्त बजेटनै विनियोजन गरेको छैन । महत्वाकांक्षी योजना भएका कारण सदरमुकाम निर्माणकार्य अलपत्र परेको स्थानीयको भनाई रहेको छ। यस्ता महत्वाकांक्षी योजना प्रधानमन्त्री वा अर्थमन्त्रीको गृह जिल्ला बाहेक अन्यत्र कार्यान्वयन गर्न गार्हो हुने पूर्व वडाध्यक्ष अमृत कुमार श्रेष्ठले बताए।
निश्चित मापदण्ड, नक्सा र निर्माणको स्थान तोकिदिए कतिपय कार्यालयहरू बनिसक्ने थिए। तर सरकारले सहजिकरण गर्नुको साटो अनेक बखेडा निकालेर सदरमुकाम निर्माणको परियोजनालाई अलपत्र पारेको स्थानीयको आरोप छ। स्थानीय भन्छन्- सरकार छ तर सदरमुकाम छैन कस्तो बिडम्बना ?




उज्यालो खबर




