![](https://www.ujayalokhabar.com/wp-content/uploads/2023/11/pate.jpg)
गैँडाकोट । नवलपुरको गैँडाकोट–९ थुम्सीबाट २५ वर्षअघि सेवा सुरू गरेको ‘पाते ढिँडो’ले चितवनको भरतपुरमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा पातेले ग्राहकहरुको चाहना अनुसार पहिलो शाखा सञ्चालनमा ल्याएको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो।
गैँडाकोटको थुम्सीस्थित नारायणी नदी किनारमा रहेको पाते ढिंडो होटल एण्ड रेष्टुरेण्ट पाते ढिंडो एण्ड बिच रिसोर्ट प्रालिको रूपमा आएको होटलका अध्यक्ष वृखलाल गुरूङले जानकारी दिनुभयो ।पहिलोपटक पोखरास्थित लेकाली चुल्होको प्रवद्र्धन तथा सहकार्यमा भरतपुरमा पनि शाखा बिस्तार गरिएको उहाले भताउनुभयो । भरतपुर–१०, सप्तगण्डकी रोडमा खुलेको शाखालाई यही मङ्सिर १७ गते आइतबार शुभारम्भ गर्ने तयारी भइरहेको गुरूङले बताउनुभयो ।
उपभोक्ताहरूको माग र चाहनाअनुसार अन्य स्थानमा पनि बिस्तारै शाखा खोल्दै लैजाने योजनासहित काम गरिरहेको उहाँको भनाइ छ। ढिँडोसँगै धराने बङ्गुरको सेकुवा, चिकेन सेकुवा, मटन सेकुवा, बफ सेकुवा र स्वादिष्ट फास्टफुड पस्कने उनले बताए। साथै विभिन्न संघसंस्था, व्यावसायिक प्रतिष्ठानका लागि आवश्यक सभा, सेमिनार, गोष्ठी गर्न, बर्थ–डे, एनिभर्सरीको उत्सव मनाउनका लागि १ सयजना सम्मको क्षमता भएको सुविधा सम्पन्न वातानुकुलीत (एसी) सेमिनार हल र १५ जनासम्मका लागि ६ वटा प्राइभेट वातानुकुलीत (एसी) डाइनिङ हलको समेत सुविधा थप गरिएको छ।
नयाँ शाखा सञ्चालनका लागि करिब २ करोड रूपैयाँ लगानी भएको उनले बताए। उक्त शाखाको लागि हाल २२ जनालाई रोजगारी दिइएको र अङ्ग्रेजी नयाँ वर्षको दिन १ विशेष कार्यक्रम आयोजना गरी ‘ग्राण्ड ओपनिङ’ गर्ने तयारी भइरहेको उनले बताए।