×

गैँडाकोट । नारायणगढ–बुटवल सडक खण्डको काम सुस्त गतिमा भएको भन्दै विरोधमा नागरिकले गैँडाकोट लगायतका स्थानमा चक्काजाम गरेका छन् । एशियाली मापदण्डको राजमार्ग बनाउने गरी शिलान्यास भएको छ वर्षसम्म पनि सडकले पूर्णता नपाएका भन्दै नागरिकले सांकेतिक रुपमा सडक बन्द गरी विरोध जनाएका हुन् ।

‘बाटो अलपत्र पारेर ठेकेदार कता हरायो ?’ ‘बाटो कहिले बन्छ सरकार ?’ लगायतका प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए । गैँडाकोट नगरपालिकाको मुकुन्दपुर भेडाबारी चोकमा उनिहरुले १५ मिनेट चक्काजाम गरेका हुन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सडक निर्माणको ठेक्का लिएको छ । ठेक्का दिइसकेपछि यसबीचमा सरकारले चासो कम दिएको सर्वसाधारणको प्रतिक्रिया छ । स्थानीय लुलभ धितालले सरकार र ठेकेदार पक्षलाई झक्झकाउन सांकेतिक विरोध गरेको जनाउँदै सडक सुधार नभए थप संघर्षका कार्यक्रम सार्वजनिक गरी विरोधमा उत्रने बताउनुभयो ।

नारायणगढ–बुटवल खण्डको ११३ किलोमिटर लामो सडकलाई चार लेनमा विस्तार गर्नेगरी विसं २०७५ साल चैतमा सुरु गरिएको थियो । घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य सडकमा नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् । झण्डै साढे तीन वर्षमा सक्ने लक्ष्य राखिएपनि छ वर्ष वित्नै लाग्दा समेत आशातित प्रगति देखिन्न । यहाँ सडक निर्माणका लागि तेस्रो पटक म्याद थप भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया