
गैँडाकोट। गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ ।
गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै जाने गरेका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् ।दिउँसोको समयमा उकालो चढ्न कठिन हुने भएकाले बिहान मन्दिरमा भीड हुने गरेकामा अहिले साँझसम्म नै भक्तजन जाने गरेका हुन् ।
धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार नवदुर्गा सुरुभएसँगै भक्तजनको सङ्ख्या बढेको छ । शनिबार फूलपातीका दिन आठ हजार भक्तजनले दर्शन गरेको अनुमान गरिएको छ । आज पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
करिब पाँच सय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकडीले मौला राखेर शक्तिपीठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो । मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।