×

काठमाडौं । संसदमा दर्ता भएको शिक्षा विधेयकको विरुद्धको आन्दोलनमा एक शिक्षकको भिडियो सामाजिक सञ्जालभरी सार्वजनिक भयो । सिलाएको झोला बोकेर आन्दोलनमा अगुवाइ गरिरहेका उनको भिडियो भाइरल भएको थियो ।सामाजिक सञ्जालमा असल शिक्षकको रुपमा प्रशंसासहित सार्वजनिक भएका तिनै शिक्षक होमनाथ न्यौपानेको बारेमा  थप जानकारी लिएका छौँ ।

४० वर्षका होमनाथ न्यौपाने माध्यामिक तहका शिक्षक हुन् । विज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर न्यौपाने देवचुली नगरपालिका १५ मा रहेको जनज्योती माध्यामिक विद्यालयका गणित शिक्षक हुन् ।२०७१ सालको शिक्षक सेवा आयोगमा स्थायी नाम निकालेर माध्यामिक विद्यालयमा अध्यापनको लागि प्रवेश गर्नुअघि उनी निजामती सेवाका कर्मचारी थिए । प्रशासन तर्फका खरिदार पदमा ३ वर्ष सेवा गरेपछि उनी निजामती सेवा छोडेर शिक्षण पेशामा फर्किएका हुन् ।

‘जिल्ला हुलाक कार्यालयको खरिदारको रुपमा पोष्टिङ भएपनि मेरो काज प्रधानमन्त्री कार्यालयमा थियो, शिक्षक न्यौपानेले भने, ‘विद्यार्थीबीच रमाउने बानी परिसकेकोले निजामती सेवामा रमाउन सकिन र शिक्षणमै फर्किएँ ।’जनज्योती माध्यामिक विद्यालयबाट नै कक्षा १२ सम्म न्यौपानेले विज्ञान विषयमा प्रथम भएर उत्तीर्ण भएका थिए । भरतपुरको बीरेन्द्र बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा स्नातक उत्तीर्ण हुँदासम्म उनले चितवन र नवलपरासीका विभिन्न विद्यालयमा शिक्षण अनुभव बटुलिसकेका थिए ।

त्यतिबेलासम्म अध्यापनमा रमाइसकेका उनी जब स्नातकोत्तर पढाइका लागि कीर्तिपुर पुगे त्यहाँ साथीहरु लोकसेवा पढ्ने माहौलले मात्रै उनलाई लोकसेवा तयारीको लागि प्रेरित गरेको थियो । त्यसैले निजामती सेवाभन्दा पढाउने पेशाले नै उनलाई तान्यो ।२०७१ सालमा स्थायी बनेर शिक्षण सेवा प्रवेश गरेका उनी विद्यार्थीमाझ लोकप्रिय छन् । धेरैजसो शिक्षकहरु सरकारी पोशाकमा चट्ट परेर विद्यालय जान लाग्दा आफ्ना सन्तानलाई निजी विद्यालय छोडेर निस्किएका दृष्य सामान्य झैँ देखिन्छन् ।

तर, न्यौपानेको अर्को सिद्धान्त छ । आफूले पढाउने शिक्षा गुणस्तरीय छ भने आफूले पढाउने विद्यालयमा आफ्ना सन्तान पढाउन सक्नुपर्छ । त्यसैले उनको छोरी पनि आफ्नै विद्यालयमा पढाउँछन् ।छोरी प्रकृति न्यौपाने कक्षा १० की छात्रा हुन् । उनी कक्षा मात्रै होइन विद्यालयकै प्रथम पनि छन् । जिल्लामा भएका अतिरिक्त क्रियाकलापमा समेत सहभागी हुन्छिन् ।

न्यौपानेका श्रीमती छविकला न्यौपाने पनि सरकारी विद्यालयकै शिक्षक हुन् । प्राथमिक तह स्थायी उनी घर भएको देवचुली १४, को जनज्योती नमुना माध्यामिक विद्यालयको शिक्षक हुन् ।‘श्रीमान श्रीमती नै भावी प्रधानमन्त्री, प्रशासक, नेता, विज्ञ पढाइरहेका छौँ, न्यौपाने भन्छन्, – सबैभन्दा ठूलो आत्मसम्मान हो, आत्मसन्तुष्टि हो । नेपाल प्रेसबाट

तपाईको प्रतिक्रिया