चितवन–युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा हुन लागेको अन्तरमाध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुई दिने प्रतियोगिताको आज (बिहीबार) ड्र मार्फत समूह विभाजन गर्दै खेल तालिका सार्वजनिक गरिएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कूल र गैंडाकोटको अक्सफोर्ड कलेजबीच प्रतिस्पर्धा हुने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कुल ३२ वटा माध्यमिक विद्यालय तथा कलेजको सहभागिता रहेको छ । प्रतियोगिता यही साउन २० र २१ गते भरतपुरस्थित द शरदपुर फुटसल खेल मैदानमा हुँदैछ ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.को २०औं वार्षिकोत्सवको अवसर पारेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने गरि प्रतियोगिता आयोजना गर्न लागिएको हो । एक्सपर्टले साउन २३ अर्थात् अगष्ट ८ मा २०औं वार्षिकोत्सव समारोह मनाउँदै छ । त्यसैको छेकोमा प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक मिराज पौडेलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिनेछ । प्रथम पुरस्कार रु.२० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार रु.१५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार रु.१० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र र विभिन्न उपहारहरु र प्लेयर अफ दि म्याचलाई प्रमाणपत्र र विभिन्न उपहारहरु प्रदान गरिने संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । उनले ग्रासरुटमा खेलाडी उत्पादन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले बालबालिकाहरुको खेलप्रस्फुटनका लागि यो प्रतियोगितालाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।ड्र कार्यक्रममा खेलसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । चितवन जिल्ला फुटबल संघ (एन्फा)ले जिल्लामा खेलकुदको गतिविधिहरु बढाउँदै लगेको छ ।



उज्यालो खबर