×

गैँडाकोट । नवलपुरको गैँडाकोटका मासु पसलहरुले  सरसफाइमा ध्यान नदिएको पाइएको छ । जिल्ला प्रशसन कार्यालय नवलपुर, भेटेनरी अस्पताल तथा पशसेवाविज्ञ केन्द्र र पर्यटन तथा उद्योग कार्यालय नवलपुरले आज गरेको गरेको संयुक्त अनुगमनका क्रममा मासु पसलहरुमा सरसफाइको पालना नगरेको पाइएको हो ।

गैँडाकोट नगरपालिका वडा नं। ७ मा रहेको नेपाल मिट प्रोसेसिङ इन्डस्ट्रिज प्रालि, गैँडाकोट ४ मा रहेको कालिका मिट एण्ड पोल्ट्री सप्लायर्स , तनँहु मिट सप , गैँडाकोट ८ मा रहेको सन्तोष फ्रेस हाउस हाउस, ठुल्दाइ फ्रेस हाउस, सुरप फ्रेस हाउस, श्रेष्ठ फ्रेस हाउसमा गरिएको अनुगमनका क्रममा सरसफाइमा ध्यान नदिइएको पाइएको छ ।

बजार अनुगमनका क्रममा नेपाल मिट प्रोसेसिङ इन्डस्ट्रिज प्रालिले बजारमा प्याकेजिङ गरि पठाउने मासुमा उत्पादकको नाम सहितको लेवलिङ नगरेको पाइएकोले तत्काल लेवलिङ गरेर मात्रै बजारमा पठाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले बताउनुभयो ।

त्यस्तै उद्योगले निर्माण गरेको माछापोखरीको पानी सीधै किसानहरुको खेतबारीमा प्रयोग गरेको पाइएकोले सोको गुणस्तर जाँच गरेरमात्र किसानको बारीमा पठाउन भनिएको छ । नेपाल मिट प्रोसेसिङ इन्डस्ट्रिज प्रालिलाई उद्योग दर्ता, नवीकरण, खाद्य अनुज्ञापत्र, करचुक्ता तथा अडिटरिर्पोट लगायतका आवश्यक कागजात सहित असार १७ गते आइतबार पर्यटन तथा उद्योग कार्यालय नवलपुरमा उपस्थित हुन भनिएको छ ।

गैँडाकोट ४ मा रहेको कालिका मिट एण्ड पोल्ट्री सप्लायर्सले सरसफाइमा ध्यान नदिइएको भेटिएको छ । कालिका मिट एण्ड एण्ड पोल्ट्री सप्लायर्सलाई अनुगमन टोलीले सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको छ भने ब्यवसाय दर्ता तथा नविकरणका आवश्यक कागजात सहित आइतबार पर्यटन तथा उद्योग कार्यालय नवलपुरमा उपस्थित हुन भनिएको छ ।

बजार अनुगमनका क्रममा गैँडाकोट ८मा अवस्थित चित्रकुमार श्रेष्ठले सञ्चालन गरेको ठुल्दाई फ्रेस हाउसमा सरसफाइको न्यूनतम मापदण्ड समेत पुरा नगरेको पाइएको छ । मासु राख्ने स्थान अव्यवस्थित र फोहोर रहेको पाइएकोले जिल्ला स्थित पर्यटन तथा उद्योग कार्यालय बोलाएर जरिवाना समेत गराउने निर्णय भएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले जानकारी दिनुभयो ।

भेटेनरी अस्पताल तथा पशसेवाविज्ञ केन्द्र नवलपुरका प्रमुख डा। ऋषभ गुरागाइले उपभोक्ताहरु समेत आफै सचेत हुनुपर्ने बताउनुुभयो । उपभोक्ताहरुले नियमक निकायको रुपमा काम गर्न मिल्छ उहाँले भन्नुभयो- ब्यवसायीहरुले गरेको सरसफाइमा चित्त बुझेन भने उपभोक्तहरुले प्रश्न गर्नुपर्छ । गैँडाकोटमा भएको अनुगमनका क्रममा अवस्था मासु पसलहरुमा मुख्य रुपमा सरसफाइमै कमि रहेको पाइएको उहाँको भनाई थियो ।

बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका प्रमुख डा. ऋषभ गुरागाई, पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनाल, अधिकृत सन्दीप लामिछाने, नरेन्द्रदेव भूसाल, उद्योग बणिज्य संघ गैँडाकोटका महासचिव छविलाल कंडेल, उपभोक्ता हित संरक्षण मञ्च नवलपुरका अध्यक्ष झलककाजी पौडेल, गैँडाकोट नगरपालिका पशुसेवा शाखाका प्रदिप सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

तपाईको प्रतिक्रिया