
गैँडाकोट । उच्च गर्मी कायमै रहेपनि नवलपुरको गैँडाकोट नगरपालिका भित्रका सबै विद्यालयहरु आइतबार (भोलि) देखि सञ्चालन हुने भएका छन् । ज्येष्ठ २१ गतेदेखि बन्द रहेका नगरभित्रका सामूदायिक र संस्थागत विद्यालयहरु भोलिदेखि खुल्ने भएका हुन् ।
संस्थागत विद्यालयहरुको छातासंगठन प्याब्सन गैँडाकोटको शनिबार बसेको बैठकले आइतबारदेखि विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मीप्रसाद दवाडीले उज्यालो खबरलाई जानकारी दिनुभयो । लामो समय विद्यालयहरु बन्द हुँदा अध्ययनमा समेत बाधा पुग्ने तथा कोर्ष सक्न समेत अप्ठेरो हुने भएकाले विद्यालयहरु नियमित सञ्चालन गर्न लागिएको हो ।
आइतबारदेखि सबै विद्यालयहरु नियमित रुपमा सञ्चालन हुन्छन् उहाँले भन्नुभयो – “सोमबारदेखि विद्यालयको भौतिक अवस्था विहान या दिउसो स्कूल सञ्चालन गर्ने निणर्य सम्बन्धीत विद्यालयहरुले गर्नेछन् ।” दवाडीका अनुसार नगरका सबै सामूदायिक विद्यालयहरुपनि आइतबारदेखि खुल्ने भएका छन् । नगरशिक्षा समिति र संस्थागत तथा सामूदायिक विद्यालयका प्रतिनिधिहरुविच भएको छलफलबाट आइबारदेखि स्कूल खोल्ने निर्णय भएको हो ।