गैँडाकोट । जयश्री च्यारिटी नेपाल एवम् जयश्री फुड्स प्रालिको आयोजना तथा नवजागरण ग्रामिण विकासकेन्द्र को सहयोगमा गैँडाकोटमा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ११५ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा १०२ जना पुरुष र १३ जना महिला रहेका छन् ।
गैँडाकोट नगरपालिका वडा नं. ९ स्थित जयश्री फुड्स प्रालिको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ११५ जनाले रक्तदान गरेको जयश्री फुड्स प्रालिका व्यवस्थापक अमित अग्रवालले जानकारी दिनुभयो ।
जयश्री फुड्सका महाप्रवन्धक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रमको उद्घाटनसत्रमा गैँडाकोट नगरपालिका वडा नं.९ का अध्यक्ष धामनाथ सापकोटा वडा नं. ८ का अध्यक्ष प्रेमप्रसाद सापकोटा, नेपाल रेडक्रस सोसाइटीका सभापति राजकुमार गुप्ता , हनुमान मन्दिरका अध्यक्ष टिकाराम सापकोटा, नवजागरण ग्रामिण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटा, नारायण भट्टराई लगायत अतिथिको रुपमा रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुुख अतिथि गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले रक्तदान जस्तो पून्य कार्यको आयोजना गरेकोमा जयश्री च्यारिटी नेपाललाई धन्यवाद दिनुभयो । उहाँले आगमी दिनमा समेत यस्तै सामाजिक कामहरुमा अगाडि बढ्नका लागि शुभकामना दिनुभयो ।
रक्तदान कार्यक्रमका अध्यक्ष तथा जयश्री फुड्सका महाप्रवन्धक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै उहाँले रक्त अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनि रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा विगतदेखिनै रक्तदान कार्यक्रम गर्दै आएको भन्दै उहाँले आगामि दिनहरुमा समेत रक्तदान कार्यक्रमलाई अगाडी बढाउने बताउनुभयो ।जयश्री फुुड्सले स्थानपनाको १० वर्ष पुरागरि ११ औँ वर्षमा प्रवेश गरेको भन्दै सबैको साथ र सहयोगले आफुहरुले लामो यात्रा पार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
५ वर्षअघि २०७५ सालमा काठमाडौँ महानगरपालिकामा दर्ता भएको जयश्री च्यारिटी नेपाल गैरनाफामुलक सामाजिक संस्था हो । यसले कोभिडका बेला गरिएको लकडाउनका समयमा देशका विभिन्न स्थानमा राहत वितरण गर्नुका साथै मठ मन्दिर निर्माण, विकासका कार्यमा हातेमालो, स्कुलमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, असहाय व्यक्तिलाई सहयोग गर्ने लगायतका कार्य गर्दै आईरहेको छ ।




उज्यालो खबर




