रमेश न्याैपाने

कावासाेती। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नवलपुरको कावासोतीमा भएको स्वास्थ्य शिविरमा पाँचसय बढीले सेवा लिएका छन् ।
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति नवलपुरले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा पाँचसय पचास जना स्थानीयहरुको स्वास्थ्य परीक्षण गरिएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले जानकारी दिनुभयो ।

कावासोती नगरपालिका वडा नं. १२ मा रहेको सन्तुदेवी आधारभूत विद्यालयमा भएको स्वास्थ्य शिविरमा लाभ लिनका लागि विहानैदेखि स्थानीयहरु लामबद्ध भएर बसेका थिए ।कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)भरतपुरमा कार्यरत बिशेषज्ञ चिकित्सकहरूले स्त्री रोग, हाडजोर्नी, जेनेरल मेडिसिन, छाती, उच्चरक्तचाप, सुगर लगायतका विभिन्न रोगहरुको चिकित्सीय सेवा उपलब्ध गराएका थिए ।स्वास्थ्य शिविरमा क्वेष्ट फर्मासिटिकल्सले सहयोग गरेको थियो ।

 

नेपाली काँग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सासंद महेन्द्रध्वज जिसी प्रमुख अतिथि रहनुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुुख अतिथि जिसीले प्रजातन्त्र दिवसको अवसरमा स्वास्थ्य परिक्षण जस्तो महत्वपूर्ण कार्यक्रम गरेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो । काँग्रेस युवा नेता तथा क्षेत्रीय सभापति अमृत भट्टचनले जनताको घरदैलोमा स्वास्थ्य शिविर लिएर काँग्रेस आएको बताउनुभयो ।

नागरिकहरुको स्वास्थ्य भन्दा ठुलो अरु हुन नसक्ने भन्दै उहाँले हरेक दुख सुखमा आफुहरु साथै रहेको बताउनुुभयो । आगमी दिनमा समेत जिल्लाका दुर्गम स्थानहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने कार्ययोजना रहेको भन्दै उहाँले शिविरमा सहयोग गरेकोमा कलेज अफ मेडिकल साईन्सेस, चिकित्सकहरु र औषधी सहयोग गर्ने क्वेष्ट फर्मासिटिकल्सलाई आभार ब्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया