
चितवन । ओपनर साकार ढकालको अर्धशतकीय पारीको मद्धतमा चितवनले तनहुँलाई हराउदै दोस्रो गैंडाकोट मेयरकप टी–२० क्रिकेटको उपाधि उचालेको छ । तनहुँलाई ५२ रनको फराकिलो अन्तरमा हराउदै चितवनले उपाधि उचालेको हो ।
नव जागरण ग्रामिण विकास केन्द्रको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५८ रन बनायो । २९ रन जोड्दा ३ विकेट गुमाएको चितवनले त्यसपछि खेलमा लय समातेको थियो ।
चितवनको ओपनिङ कमाण्ड सम्हालेका साकार ढकालले अर्धशतकीय पारी खेल्दै मध्यम स्कोर खडा गरे । ५४ बल खेलेका उनले ६ छक्का र १ चौका प्रहार गर्दै ६४ रन बनाए । उनी १८ औं ओभरको तेस्रो बलमा आउट हुदाँ टिमको स्कोर १ सय २८ रन बनेको थियो । यस्तै प्रतिक श्रेष्ठले २३ बल खेल्दै ३९ रन जोडे । कप्तान दिपेश श्रेष्ठले २२ र बिकल गुप्ताले १७ रन बनाउदै अविजित रहे ।
बलिङमा तनहुँका प्रदीप अर्यालले २ तथा कप्तान चन्द्रकान्त पौडेल, सुवास खत्री र दिवस आचार्यले समान १ विकेट लिए ।१ सय ५९ रनको विजय लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ थालेको तनहुँ १४ बल बाँकी छदै सबै विकेट गुमाएर १ सय ६ रनमा समेटिन पुग्यो । तनहुँका लागि मध्यक्रममा अशोक पौडेलले सर्वाधिक ४३ रन बनाए । यस्तै चन्द्रकान्त पौडेले १७, सुवास खत्रीले १३ र दिपेश बुढा मगरले ११ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा चितवनका कप्तान दिपेश श्रेष्ठले ३, क्रिजन गुरुङ र दानिस इकबाल २/२ र हरि चौहानले १ विकेट लिए । चितवनका लागि अर्धशतकीय पारी खेलेका साकार ढकाल खेलको प्लेयर अफ द म्याच घोषित भए ।प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई पनि विधागत अवार्डद्वारा सम्मान गरिएको थियो । प्रतियोगितामा १ सय १६ रन बनाएका नवलपुरका ब्याटर सन्तोष कार्की बेष्ट ब्याट्सम्यान चुनिए । कुल ६ विकेट लिएका तनहुँका सुवास खत्रीले बेष्ट बलरको अवार्ड पाए ।
ब्याटिङमा ७३ रन जोड्दै बलिङमा ३ विकेट लिएका तनहुँका अशोक पौडेल प्लेयर अफ द सिरिज घोषित भए । इर्मजिङ प्लेयरमा नवलपुरका गौरव बिक भए भने बेष्ट फिल्डरको अवार्ड चितवनका हरि चौहानको नाममा रह्यो । बेष्ट विकेट किपर तनुहँका समर कडेलले पाउदा फेयर प्ले टिमको अवार्ड बाग्लुङले पायो ।
प्रतियोगिताको विजेता टोलीले २ लाख नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टोलीले १ लाख ५० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । माघ २६ गतेदेखि संचालन भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले खेल स्वास्थ्य र बौद्धिकताका लागि आवश्यक भएको बताए उनले क्रिकेट आयोजना गरेर खेलको माध्यमबाट गैंडाकोटलाई चिनाउन मद्दत गरेको बताउँदै खेलकुदको विकासका लागि नगरपालिकाले सक्दो काम गर्ने बताए ।
नवजागरण ग्रामिण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले खेल सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिदै क्रिकेट खेल र खेलाडीको विकासका लागि सधैं काम गर्ने बताए साथै उनले खेल खेलाएर बचेको रकमले खेल मैदानको स्तरोन्नती गरिने बताए ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइराला, प्रतियोगिताका निर्देशक एवं नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका गैंडाकोट ९ का वडा अध्यक्ष धामनाथ सापकोटा, गैंडाकोटका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल, वडाध्यक्षहरु रत्नप्रसाद सापकोटा, होमनाथ सापकोटा, प्रादेशिक क्रिकेट संघ गण्डकी प्रदेशका कोषाध्यक्ष प्रकाश पौडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।