
नवलपुर । गैंडाकोटमा जारी दाश्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा चितवन र तनहुँ प्रवेश गरेका छन् । आज (आइतबार) भएको सेमिफाइनल खेलमा चितवनले कास्कीलाई र तनहुँले नवलपुरलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । चितवनले कास्कीविरुद्ध ५ विकेटको जित निकाल्दा तनुहँसँग नवलपुर ३ विकेटले पराजित हुन पुग्यो ।
आजको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नवलपुरले निर्धारित २० ओभरमा अलआउट हुदै १ सय ५३ रन बनायो । नवलपुरका लागि ओपनर सन्तोष कार्कीले ४६ बल खेल्दै ५४ रन जोडे । यस्तै कमल परियारले २७, रिजन काफ्लेले २४ र गौरव बिकले २२ रन बनाए ।
बलिङमा तनहुँका सुवास खत्रीले २४ रन खर्चिदै ४ विकेट लिए । प्रदीप अर्याल र अशोक पौडेलले समान २ विकेट लिदा चन्द्रकान्त पौडेलको नाममा एक विकेट रह्यो ।१ सय ५४ रनको विजय लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको तनहुँले ७ बल अगावै ७ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । तनहुँलाई जित दिलाउन अशोक पौडेलले अविजित ६२ रन जोडे । ३८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे ।
बलिङमा नवलपुरका सुदिप अर्यालले २, राशिद खान, शिरिष भुसाल, रिजन काफ्ले र कमल परियारले समान १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच तनहुँका अशोक पौडेल घोषित भए ।यसैगरी आज नै भएको दोश्रो सेमिफाइनल खेलमा कास्कीविरुद्ध चितवनले जित निकाल्यो । १ सय ३६ रनको लक्ष्य पछ्याएको चितवनले १८ औं ओभरको दोश्रो बलमा जित निकालेको हो । चितवनको जितमा प्रतिक श्रेष्ठले सर्वाधिक ३६ रन जोडे । २० बल खेलका उनले आक्रामक ब्याटिङ गर्दै ५ छक्का प्रहार गरे । यस्तै साकार ढकालले ३३, हरि चौहानले २९ र कप्तान दिपेश श्रेष्ठले १२ रन बनाए ।
बलिङमा कास्कीका कृष्ण पौडेलले ३ विकेट निकालेपनि चितवनलाई दबाबमा राख्न पर्याप्त भएन । विपिन खत्री र विश्वास पराजुलीले पनि समान १ विकेट निकाले ।त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रनको मध्यम स्कोर खडा गरेको थियो । कास्कीका लागि ओपनर मुस्कान थापाले सर्वाधिक ४१ रन बनाउदा अर्का ओपनर किरण पौडेलले ३४ रन जोडे । मध्यक्रममा ब्याटिङ गरेका अभिषेक थापा ३७ रनमा अविजित रहे ।
बलिङमा चितवनका कप्तान दिपेश श्रेष्ठले २ विकेट लिए । यस्तै बाबुराम भट्टराई, क्रिजन गुरुङ र दानिस इकबालले १र१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच चितवनका कप्तान दिपेश श्रेष्ठ चुनिए । प्रतियोगिताको फाइनल खेल भोलि बिहान १० बजेदेखि हुनेछ ।
नवजागरण ग्रामिण विकास केन्द्रको आयोजनामा माघ २६ देखि फागुन १ गतेसम्म प्रतियोगिता संचालन भइरहेको छ । प्रतियोगिताको विजेताले २ लाख नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १ लाख ५० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।