–राजेश पौडेल /जितेन राई

कात्तिक महिनाको अन्तिम सातातिर ३५ बर्षे बिबाहित महिला मनोसामाजिक परामर्शका लागि सम्पर्कमा आइन् । दुई छोरीको आमा घरमा श्रीमान लगायत अन्य परिवारको सदस्यबाट छोरा नजन्माएकै कारण पटक–पटक शारीरिक र मानसिक यातना भोगिराखेको बताउथिन् । केहि समय समस्या सँग सामना गर्दै आइराखेको भएता पनि बिगत केही हप्ता देखि उनमा मानसिक बिचलन सुरु भएको रहेछ, जसका कारण निद्रा नलाग्ने, डर लाग्ने, आफैलाई दोषी ठान्ने र समय समयमा आत्महत्याको बिचारहरुले सताई रहने गरेको रहेछ । निरन्तर हिंसाले मानसिक बिचल भइ आफनोदैनिक क्रियाकलापमा कठिनाई भइरहेको अवस्थामा माइती परिवारको संरक्षणमा रहेको र आवश्यक कानुनि उपचार प्रक्रियामा गएकी रहेछिन् ।
परामर्शकै लागी सम्पर्कमा आएकी अर्की २२ वर्षकी एक महिला दाइजो कम भएकै कारण पटक–पटक घरेलु हिंसा खेप्दै आइराखेकी छिन् । १७ वर्षमा बिबाह (बाल बिबाह) गरेकी उनले सुरुमा हिंसालाई सामान्य दैनिकी जस्तै बनाएर बसिरहेकी थिइन् । जब श्रीमानको आफ्नै भाउजुसँगको अनैतिक सम्बन्ध आफ्नै आँखाले देखिन् । आफुलाई समाल्न सकिनन् र श्रीमान्को अनैतिक क्रियाकलापबारे बोल्दा दैनिकजसो झगडा तथा कुटपिट हुन थाल्यो । परिवारका सदस्यबाट सहयोग पाउनुको साटो उल्टै छोराकै पक्षपोषण गरेको महसुस गरेपछि हाल माइती घरमा आमा संगै बस्दै आएकी छन । उनको परिवार दाइजो फिर्ता गर्ने कि मिलेर बस्ने भनेर पटक पटक प्रहरी र समुदायसँग छलफल गरिरहँदा उनी भने अब कुनै पनि हालतमा श्रीमासँगको जिन्दगी सोच्न नसक्ने बताउछिन् । उनलाई श्रीमानको अनैतिक सम्बन्धको दृश्य झल्झली आँखा अगाडी आईरहन्छ । उनि राम्रोसँग सुत्न सक्दिनन्, नराम्रो सपना देख्छिन्, धेरै दुःखी देखिन्छिन, र आशाविहिन भएको महसुस गर्छिन ।
यी दुई महिलाले समुदायमा व्याप्त लैंङ्गिक हिंसा र यसको मनोसामाजिक प्रभाबको बिषय उजागर गर्ने प्रतिनिधि पात्र मात्र हुन् भन्दा त्यति फरक नपर्ला । अझ अर्को भाषामा भन्नु पर्दा, यी पात्र केवल समुन्द्रमा तैरिएको बरफको ढिक्का लाई बिम्बित गरिराखेका छन् र पिंधमा रहेको बरफको हिस्सा कति विशाल छ भनी मापन गर्न बाँकीनै छ ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको एक प्रतिवेदन अनुसार ४८% महिलाहरु आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको लैंङ्गिक हिंसा भोगीराखेको हुन्छन । राष्ट्रिय तथ्यांक बिभाग, नेपाल २०७६ को प्रतिबेदन अनुसार पनि १५ देखि ४९ वर्ष उमेर समुहको महिलामा हरेक पाँच जनामा एक जनाले शारीरिक हिंसा भोगिराखेको हुन्छन भने विवाहित महिलाको सन्दर्भमा हरेक चारमा एक जनाले आफ्नै श्रीमान बाट हिंसा भोगिराखेका हुन्छन् ।

कुनै व्यक्तिले महिला, पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएकै आधारमा कसैमाथी घर, समाज, तथा कार्यस्थलमा गर्ने शारिरीक, मानसिक, आर्थिक तथा यौनजन्य पीडा वा क्षति पु¥याउने कार्य नै लैङ्गिक हिंसा हो । यो महिला, पुरुष र लैंगिक तथा यौनिक अल्पसंख्यक सबैले अनुभब गर्न सक्छन तर, हाम्रो जस्तो कम बिकसित र पितृसत्तात्मक सोच भएको समाजमा भने तुलनात्मक रुपमा महिला हिंसा बढी हुने गरेको पाइन्छ । मधेस प्रदेश प्रहरी, जनकपुरका अनुसार चालु आर्थिक वर्ष कार्तिक सम्ममा (४ महिनामा) मात्र कुल १२८४ वटा घरेलु हिंसा बिरुद्ध मुद्धा दर्ता भएका छन् जसमा महिला हिंसा बिरुद्धमात्र कुलको ९१ % मुद्धाहरु दर्ता भएका छन। मधेश प्रदेशको हकमा हेर्नुपर्दा दाइजो प्रथा, बालबिबाह, बहुबिबाह, बोक्सीको आरोप, बलात्कार तथा यौन दुराचार आदि लैंगिक हिंसाको प्रमुख कारकहरुमा रहेको देखिन्छ ।
लैंङ्गिक हिंसासंगै जोडिएर आउने महत्वपूर्ण तर ओझेलमा परेको पक्ष भनेको र यस आलेखमा उठाउन खोजिएको बिषय यसको मनोसामाजिक पक्ष हो ।

सामाजिक गतिबिधिहरुले व्यक्तिको शारिर, भावना, ब्यवहार र सम्बन्धमा प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाब पारिराखेको हुन्छ । हिंसा प्रभावित व्यक्तिहरुलाई विभिन्न शारीरिक समस्याहरु, चरम निराशा, आशा बिहिनता, आफुलाई दोषी महसुस गर्ने, दिक्दारिपन, रिस, अरुलाई बिस्वास गर्न गारो हुने र आफुलाई हानि गर्ने सोच तथा ब्यबहार हरु देखिन्छन् । अध्ययनहरुका अनुसार हिंसामा परेका व्यक्तिहरुमा अधिकांशमा घटना पछि आघातजन्य समस्या देखिने गरेको छ । स्प्रिङ्गर लिंक नामक जर्नलमा प्रकाशित सुसान रीज र उनको समूहले गरेको अध्ययन अनुसार, मानसिक रुपमा पूर्ण स्वस्थ एक महिला पनि लैंङ्गिक हिंसामा परेको एक वर्ष देखि पाँच वर्षको अन्तरालमा कुनै न कुनै प्रकारको मानसिक समस्या र आत्महत्या सम्बन्धित व्यवहारहरु हुन सक्ने प्रवल सम्भावना भएको बताइएको छ । यसरी विश्लेषण गर्दा लैंङ्गिक हिंसा मानवधिकारको एक प्रमुख मुद्धा त हो नै जसमा मनोसामाजिक पक्ष पनि प्रत्यक्ष जोडिएर आएको देखिन्छ ।

मधेश प्रदेश, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत बिषयगत संरक्षण क्षेत्रको मासिक बैठकमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर बाट महिला हिंसा र आत्महत्याको तथ्यांक प्रस्तुत गरिन्छ ।उक्त तथ्यांकलाई केलाउँदा पनि महिला हिंसा र आत्महत्या एक अर्काबीच अन्तरसम्बन्धित भएको अनुमान गर्न सकिन्छ । उपलब्ध तथ्यांक अनुसार श्रावन २०७६ देखि श्रावन २०७८ सम्ममा (२ वर्षमा) ३६० जना बालिका र ५७९ जना १८–वर्ष माथिका महिला गरि जम्मा ९३९ जना महिलाले आत्महत्या गरेका थिए । सोही समयमै मधेशमा ४९७ बालिका र २५८ १८–वर्ष माथिका महिला गरि जम्मा ७५५ वटा बलात्कार बिरुद्धका मुद्धा दर्ता भएका थिए । उक्त २ वर्षलाई पनि कोरोना भाइरस आउनु पूर्वको ९ महिना (श्रावण २०७६ देखि ११ चैत्र २०७६ सम्म) र कोरोना दौरानका ९ महिना (पहिलो चरणको बन्दाबन्दी ११ चैत्र २०७६ देखि श्रावण २०७७ सम्म ५ महिना र दोस्रो चरणको बन्दाबन्दी बैशाख २०७८ देखि श्रावण २०७८ सम्म ४ महिना गरि जम्मा ९ महिना) लाई तुलनात्मक रुपमा विश्लेषण गर्दा पनि बलात्कारका घटना बढेसँगै आत्महत्याका घटना उल्लेखनीय रुपमा बढेको पाइन्छ । कोरोना अगाडिको ९ महिनाको तुलनामा कोरोना दौरान को ९ महिनामा बालिका बलात्कार र आत्महत्याको घटना क्रमशः ४८% ले र ८०% ले बढेको छ । यसरि हेर्दा बालिका बलत्कार र आत्महत्या घटना ३ः५ को अनुपात मा बढेको पाइन्छ ।

१८–वर्ष माथिका महिला बलात्कारको घटना ५७% ले वृद्धि हुँदा आत्महत्याको घटना ८५% ले बढेको थियो । कोरोना अगाडिको ९ महिनामा बालिका बलात्कार र आत्महत्याको घटना क्रमशः १३७ र ९३ थियो भने कोरोना दौरानको ९ महिना उक्त संख्या बढेर २०३ र १६८ पुगेको थियो। त्यसै गरि १८–वर्ष माथिका महिलाको हकमा बलात्कार र आत्महत्याको घटना क्रमशः ७२ र १४१ बाट बढेर ११२ र २६१ पुगेको थियो । तथ्यांक अनुसार कोरोना काल ९ महिना लैंङ्गिक हिंसाका घटना बढेसंगै आत्महत्याका घटनाहरु बढेको अनुमान लगाउन सकिन्छ । कोरोनाको दौरानमा कुल आत्महत्याको १८ प्रतिशत मात्रा पुरुष आत्महत्याको घटना दर्ता भएका थिए. चालु आर्थिक वर्ष कार्तिक (४ महिना) सम्ममा बालिका र १८–वर्ष माथिका महिला गरेर क्रमश; ४५ र ७५ गरि १२० जना महिलाहरुले आत्महत्या गरिसकेका छन भने ११९ जना पुरुषले पनि आत्महत्या गरेका छन। सोहि समयमा कुल १२८४ वटा घरेलु हिंसा बिरुद्ध मुद्धा दर्ता भएकोमा ११६४ अथवा ९१% महिला हिंसा बिरुद्धका छन् । .
विभिन्न आठ वटा यूरोपियन देशहरुमा गरिएको क्रस कल्चरल तुलनात्मक अध्ययन अनुसार आत्महत्या प्रयास गरेका व्यक्तिहरुले साझा रुपमा यौन हिंसाको अनुभब गरेको देखिएको थियो र यो बिषेश गरेर महिलामा रहेको पाइएको थियो । आत्महत्या गर्ने मध्ये ९५% व्यक्तिहरुमा कुनै न कुनै प्रकारको मानसिक समस्या भएको हुन्छ भनेर अध्ययनले भन्दै गर्दा र महिलामा मानसिक बिचलनको प्रमुख कारण लैंगिक हिंसा हुनुले पनि माथिको तथ्यांक सान्दर्भिक देखिन्छ। यद्यपी हाम्रो परिवेशमा लैङ्गिक हिंसा र यसको मनोसामाजिक प्रभाव बारे पर्याप्त रुपमा अध्ययन अनुसन्धानको अभाव देखिन्छ र यसको लागि अध्ययन गर्न जरुरी छ । सामाजिक रुपमा हुने लाञ्छाना तथा विभेदको कारणले गर्दा प्रभावित व्यक्तिले आफ्नो पिडा व्यक्त गर्दैनन् फलस्वरुप मनोसामामाजिक समस्याको शिकार भैरहेका हुन्छन् । द हिन्दु मा सन् २०२० मा प्रकाशित एक लेखका अनुसार झण्ड्रै ८७% हिंसा प्रभावित महिलाहरु जो कहिल्यै सहयोग खोज्दैनन् र ७७ % प्रभावित महिलाहरु आफुलाई भएको घटनाबारे कसैलाई बताउँदैनन् ।
लैङ्गिक हिंसाको प्रभाव व्यक्तिलाई मात्र नभई परिवार, समाज तथा सम्पुर्ण राष्ट्रलाई पर्दछ । कुनै पनि व्यक्तिले हिंसा गर्दछ भने उ आफै पनि मनोसामाजिक समस्याबाट गुज्रिरहेको हुनसक्छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी मनाइन्छ। नेपाल सरकारले लैङ्गिक हिंसा प्रभावितलाई एकद्धार संकट व्यवस्थापन केन्द्रमार्फत मनोसामाजिक सहयोग गर्दै आइरहेको भएतापनि सेवालाई प्रभावितहरुको सहज पहुँचमा पु¥याउन थप कार्य गर्नुपर्ने देखिन्छ ।

(लेखकद्धय मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थामा कार्यरत रहेका छन् ।)

तपाईको प्रतिक्रिया