चितवन।  जनकौली एफसी चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्‍मृति खुला नक आउट फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार सम्पन्न खेलमा हात्तिगाडे एफसीलाई स्तब्ध पर्दै जनकौलीले क्वाटरफाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक खेलमा जनकौली १-० ले विजयी भयो ।

जनकौलीको जितमा सुरज चौधरीले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५५ औं मिनेटमा सुरजले गोल गरे । उक्त गोल नै जनकौलीलाई जिताउन पर्याप्त भयो । जनकौलीका सुरज म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगितामा शनिबार हाईलाइट युथ क्लब र ग्यापुर वारियर एफसी भिड्नेछन् । जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)  कालिका नगर समितिले प्रतियोगिता आयोजना गरेको हो । १९ गतेसम्म हुने प्रतियोगितामा चितवन र छिमेकी जिल्लाबाट १५ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने अनेरास्ववियू कालिकाका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको मगरले बताए । प्रतियोगिता सम्पन्न गर्न चार लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया