कावासोती  । नारायणी नदीको उत्तरी भङ्गालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुरतर्फको तटीय क्षेत्रका वासिन्दा र संरक्षणकर्मी चिन्तित भएका छन् ।नारायणघाटस्थित नारायणी नदीको पुलबाट केही किलोमिटर तलशिख्रौलीघाटबाट नदी दुई भङ्गालोमा बाँडिएर बगेको छ । नवलपुरतिर बग्ने भङ्गालोलाई उत्तरी र चितवनतर्फ बग्ने भङ्गालोलाई दक्षिणी भङ्गालो भन्ने गरिन्छ ।

यतिबेला नारायणी नदीको पानी अधिकांश भाग चितवनतर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि नवलपुरतर्फका संरक्षणकर्मी र सर्वसाधारणका लागि भविष्यमा यसले पु¥याउन सक्ने सम्भावित असरले चिन्तित बनेका हुन् । चितवनतर्फ विकास निर्माण तथा नारायणी नदीको तटबन्धनका लागि सेतीदेवी सामुदायिक वन आसपास अत्यधिक मात्रामा नदी उत्खनन गर्दा गहिरिएर नदीको बहाव दक्षिण भङ्गालोतर्फ सोझिँदा नवलपुरका तटीय क्षेत्र सुक्खा हुने अवस्थामा पुगेको जनाइएको छ ।

केही दिनअघि मात्रै चरा गणनाका लागि नारायणी नदी किनारमा पुगेको टोलीलाई पनि नवलपुरतर्फ पानीको बहाव कम हुँदा समस्या आएको संरक्षणकर्मी डिबी चौधरीले बताउनुभयो । यतिबेला नवलपुरतर्फको उत्तरी भङ्गालोमा पानीको बहाव निकै कम हुँदा चरा गणनाका क्रममा पिठौलीघाटबाट शिख्रौलीघाटसम्म डुङ्गासमेत चल्न नसकेको उहाँको अनुभव थियो । उत्तरी र दक्षिणी भङ्गालो अमलटारी घाटमा आएर मिसिने हुँदा अमलटारीबाट शिख्रौलीसम्मको उत्तरी भङ्गालो लगभग सुक्खा हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । “यतिबेला नारायणीको पानीको लगभग ९५ प्रतिशत पानी चितवनतर्फको दक्षिण भङ्गालोबाट बगेको छ, यसले गर्दा नवलपुरको तटीय क्षेत्र, जैविक विविधता र निकुञ्जको सुरक्षामा समेत चुनौती थपिएको छ”, संरक्षणकर्मी चौधरीले भन्नुभयो ।

धेरै मात्रामा नदीजन्य पदार्थ उत्खनन गर्दा नदीले धार परिवर्तन गरेर दक्षिणी भङ्गालोतर्फ गएको अर्का संरक्षणकर्मी विष्णु अधिकारी बताउनुहुन्छ । नारायणी नदीको उत्तरी भङ्गालो आश्रित भएर नवलपुरका तटीय क्षेत्रमा सञ्चालन भएका पर्यापर्यटनका गतिविधिसँगसँगै नदीमा आश्रित जलचर र थलचर प्राणीलाई समेत यसले गम्भीर असर पार्ने उहाँको भनाइ छ । उत्तरी भङ्गालोमा नदीको पानी कम हुँदा निकुञ्जका वन्यजन्तुसमेत सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्ने र यसले मानव–वन्यजन्तु द्वन्द्व थप बढ्ने अधिकारी बताउनुहुन्छ ।

प्राकृतिक कारणले नदीले धार परिवर्तन गर्नु स्वाभाविक भए पनि मानवीय क्रियाकलापका कारण नदीको धार परिवर्तन हुनु दुःखद् भएको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे बताउनुहुन्छ । चितवनतर्फ विकास निर्माणका लागि अत्याधिक मात्रामा नदी उत्खनन गरिँदा नवलपुर क्षेत्रको तटीय क्षेत्र सुक्खाग्रस्त हुँदै गएको र यसले भविष्यमा यस क्षेत्रमा गम्भीर नकारात्मक असर पु¥याउने उहाँले बताउनुभयो ।

धार्मिक आस्थासँग जोडिएको नारायणी नदीमा हिउँदको समयमा नवलपुर क्षेत्रतर्फ नदी स्नानलगायतका धार्मिक अनुष्ठानका लागि समेत पानीको अभाव हुन लागेको अध्यक्षपाण्डेले बताउनुभयो । “यसरी नदीको पानी घट्दै जाँदा धार्मिक, आर्थिक, पर्यटकीय गतिविधिमा गम्भीर नकारात्मक असर पर्ने भएकाले नदीलाई प्राकृतिकरूपमा नै बग्न दिनुपर्छ”, उहाँले भन्नुभयो ।

नारायणी नदीको उत्तरी भङ्गालोमा पानीको सतह घट्दै गएपछि निकुञ्जको सुरक्षा चुनौती बढेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्वाभाविकरूपमा उत्तरी भङ्गालोमा पानी कम हुँदा निकुञ्जको सुरक्षा चुनौती बढेको छ, आगामी दिनमा जैविक विविधता र नारायणी तथा निकुञ्ज आश्रित जनसमुदायमा यसले गम्भीर असर पुग्ने देखिएको छ ।” उत्खनन भएको भनिएको क्षेत्र निकुञ्ज क्षेत्रभित्र नपर्ने भएकाले नदीको धार आफैँ परिवर्तन भएको हो या उत्खननका कारणले भएको यसै भन्न नसकिने उहाँको धारणा थियो ।

नारायणी नदीको उत्तरी भङ्गालोमा पानी घटेपछि संरक्षणकर्मीमात्रै होइन नदी किनारका बासिन्दाका लागि भने यो ठूलो चिन्ताको विषय बनेको छ । नदीमा आश्रित भएर माछा मारेर जीविकोपार्जन गर्ने बोटे माझी, मुसहर समुदायमात्रै होइन, नारायणी नदी किनारमा रहेका होमस्टे, होटल व्यवसायी तथा पर्यटन व्यवसायी चिन्तित बनेका छन् । सँगसँगै नदी किनारमा दाहसंस्कार गर्न तथा अन्य धार्मिक गतिविधि सञ्चालन गर्नसमेत समस्या भएको सरोकारवालाको धारणा छ ।रासस

तपाईको प्रतिक्रिया