काठमाडौं । सत्ता साझेदार दलको बैठक भोलि बिहीबार बालुवाटारमा बस्ने भएको छ ।खुमलटारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले भोलि बालुवाटारमा बैठक बस्ने निष्कर्ष निकालेको हो ।
नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार प्रभु साह,अमरेशकुमार सिंह र किरणकुमार साह सामेल छन्।
सत्तासमीकरणबारे छलफल गर्न ओली प्रचण्ड भेट्न खुमलटार पुगेका थिए। करिब २ घन्टा लामो छलफलपछि ओली खुमलटारबाट बाहिरिएका छन् । दुई वर्षपछि ओली प्रचण्ड निवास खुमलटार पुगेका हुन् । यसअघि २०७७ पुस ४ गते ओली खुमलटार पुगेका थिए ।
छलफलमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तय गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार भोलिको बैठकमा सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तयलगायत विषयमा छलफल हुनेछ ।ओली–प्रचण्डको भेट हुनु अगाडि ओली निवास बालकोट र प्रचण्डनिवास खुमलटारमा माओवादी र एमालेका दोस्रो तहका नेताहरुले छलफल गरेका थिए ।
यसअघि ओली नेतृत्वको सरकार ढाल्दा कांग्रेससहित दलसँग माओवादीको गठबन्धन बनेको थियो। चुनावसम्म त्यही गठबन्धन कायम भएको थियो । नेताहरूले पनि यही गठबन्धनले नयाँ सरकारले बनाउने बताउँदै आएका थिए। तर,प्रधानमन्त्रीमा कुरा नमिल्दा नयाँ समीकरण बनेर प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।