रेसुङ्गा । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ ।

यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छन् ।

बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्छिन् । ‘चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ’, उनी भन्छिन्, ‘घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छ ।’ विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिक रूपमा औसत कमाइ रु तीन हजार भएको बताइन् ।

माध्यमिक शिक्षा परीक्षा पछि उहाँ पढ्नका लागि तम्घास आएकी हुन् । उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काइन् । यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन् । उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गरिन् ।

मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गरिन् । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छन् ।

अनुभव सँगाल्ने भनेर चिया बेच्न सुरु गरेको उनले बताइन् । ‘अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरता दिएँ’, उनी भन्छिन्, ‘मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन ।’ तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीन रूपमा निरन्तरता दिने उनको भनाइ छ ।

आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बताइन् । उनी बिहान ६ बजे बजारमा चिया बेच्न निस्किन्छिन् । त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्किन्छिन्। तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताइन् । आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ ।

उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् ।

उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छन् । उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन् । विपनाका बुवा हरिबहादुर कृषक हुन भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका हुन् । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ ।

विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँ ठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन् । उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताइन् । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन् ।

तपाईको प्रतिक्रिया