चितवन ।  विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले चितवनका एक पत्रकारलाई कुटपिट गरेका छन् । आर्थिक वर्ष समापनको अवसर पारेर कार्यलय परिसरकै काउण्टर भवनभित्रै दिउसो देखि रक्सी पार्टी भैरहेको सूचना पाएपछि रिपोर्टिङमा पुगेका पत्रकार कृष्ण आचार्यलाई कर्मचारीहरुले कुटपिट गरेका हुन् ।

कार्यालय परिसरभित्रै खसी काटेर रक्सी पार्टीमा दिनभर रमाएका कर्मचारीहरुले आचार्यलाई कुटेका हुन् । आचार्यको हातमा चोट लागेको छ भने कपडा समेत च्यातिदिएका थिए । समूहनै मिलेर कुट्न थालेपछि आचार्य बन्द भएको गेट चढेर भागेर ज्यान जोगाउनुभएको छ ।
आचार्य नारायणी अनलाइनको सम्पादक तथा प्रेस चौतारी चितवनको उपाध्यक्ष हुनुहुन्छ ।

कुटपिट गर्नेहरु भागेपछि थप अनुसन्धानका लागि कार्यालय प्रमुख राजीवकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनभर पार्टी गर्दाको सीसिटिभिमा फुटेज समेत डिलिट गराइएको छ । घटनाका दोषीलाई पक्राउ गरि कारवाही गर्नुपर्ने माग राख्दै चितवनका पत्रकारहरुले नाराबाजी गरेका थिए । साँझ साढे ५ बजेतिर आचार्यमाथि कुटपिट भएको थियो ।

तपाईको प्रतिक्रिया