सुस्मा न्यौपाने
नवलपुर।पूर्वि नवलपरासीमा अपाङ्गता भएका व्यक्तिहरुलाई समुुदायमा पुर्नस्थापना गराउन (सी.बी.आर) कार्यक्रम संचालन गरिने भएको छ सामाजिक एवंम् आर्थिक सशक्तिकरणको माध्यमबाट विकासको मुल प्रवाहमा ल्याउन सी.बी.आर कार्यक्रम सञ्चालन गरिन लागेको हो । त्यसका लागि सीपमुलक तालिम कार्यक्रम सञ्चालन, व्यवसाय उद्यम स्थापनाका लागि सहयोग हुने खालका सीपमुलक तालिम सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी(पूर्व)ले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी बिर बहादुर श्रेष्ठले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश पोखरा बाट आएको बजेट मार्फत जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गर्दै तालिम सञ्चालन हुने जानकारी दिनुभयो ।
बैसाख मसान्त भित्र तालिम सम्पन्न गर्ने गरी जिल्लामा अपाङ्गताका क्षेत्रमा काम गरिरहेका विभिन्न चारवटा संस्थाहरुसँग स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाँई सहितको टिमले सम्झौता समेत गरिसकेको उहाँले बताउनुु भयो । उहाँका अनुसार नवलपरासी नेत्रहिन संघ, अपाङ्ग पुर्नस्थापना समन्वय परिषद, अपाङ्ग पुर्नस्थापना केन्द्र र नमुना अपाङ्ग केन्द्रसँग सम्झौता गरिएको छ ।
सम्झौता गरिएका संघसंस्थाहरु मध्ये नवलपरासी नेत्रहिन संघले अचार र झिलिङ्गा बनाउने तालिम, अपाङ्ग पुर्नस्थापना समन्वय परिषदले फिनेल बनाउने तालिम, अपाङ्ग पुर्नस्थापना केन्द्रले सर्फ र फिनेल बनाउने तालिम तथा नमुना अपाङ्ग केन्द्र मार्फत लाईजल, फिताम्बरी र मच्छर लिक्वीड बनाउने तालिम सञ्चालन हुनेछन । सबै तालिम सम्पन्न गर्नका लागि ७ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारको सीबीआर कार्यक्रम नेपाल सरकार महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले २०५८ देखि अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षणलगायत उनीहरूको सशक्तीकरण र विकासका लागि जिल्लाजिल्लामा सिबीआर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
राज्यको संलग्नता साथै स्थानीय स्तरमै उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गरी अपाङ्गता भएका मानिसहरूलाई उनीहरूको समुदायमै पुनर्स्थापित गराई शिक्षा, स्वास्थ्य र सहज जीवनयापनमा पहुँच पुर्याउँदै उनीहरूको सामाजिक सहभागिता र सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित यस कार्यक्रम हाल देशका ७७ वटै जिल्लामा पुगिसकेको छ ।