गोविन्द घिमिरे
गैँडाकोट । पूर्वि नवलपरासीमा बुधवार सम्म १२ हजार ज्येष्ठ नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) ले बुधवार सम्म ६५ वर्ष माथिका १२ हजार २ जनाले कोरोना भाइरस विरुद्धको ‘कोभिडशिल्ड’ खोप लगाएको जानकारी दिएको छ ।
बुधवार मात्रै जिल्लाका सबै स्थानीय तहहरुमा गरि २ हजार ४ सय २६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का प्रमुख केशव चापागाँईले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा ६७९ जनाले खोप लगाएका छन । त्यसैगरी मध्यविन्दु नगरपालिकामा ५७६, कावासोती नगरपालिकामा ४२८, देवचुली नगरपालिकामा ४१५, विनयी त्रिवेणी गाउँपालिकामा २२९, बुलिङटार गाउँपालिकामा ६० र हुप्सेकोट गाउँपालिकामा ३९ जनाले खोप लगाएको कार्यालयले जनाएको छ । यसअघि मंगलबार जिल्लामा ३ हजार १ सय १० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए ।
जिल्लाका विभिन्न केन्द्रमार्फत ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि लगाउन थालिएको कोरोना विरुद्धको खोप संख्यात्मक अवस्था हेरेर पालिकाहरुमा भोली पनि लगाईने कार्यालयका सूचना अधिकारी विर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । खोप लगाएपछि कुनै ‘साइडिफेक्ट’ देखिए सोका लागि छुट्टै स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ ।
रगत जम्ने समस्या भएका मानिस र गर्भवती महिलाहरुले कोरोना विरुद्धको खोप लगाउन नहुने उहाँले जानकारी दिनुभयाे । क्यान्सर, मुटु, मिर्गौला, प्रेसर, थाइराईडका विरामीलाई कुनै असर नगर्ने श्रेष्ठको भनाई छ । खोप लगाउनका लागि नवलपुरमा ८७ जना कर्मचारी र ६१८ स्वयंसेवक खटिएका छन् ।दोस्रो प्राथमिकतामा परेका ६५ वर्ष पुगेका व्यक्तिलाई लगाएपछि दोस्रो चरणमा ५५ बर्ष माथिका व्यक्तिलाई खोप उपलब्धताको आधारमा लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।