×

सुस्मा न्यौपाने
गैँडाकोट । कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियानमा नवलपुरमा १७५२ जनाले खोप लगाएका छन । सरकारले गत आईतबार देखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधि र पत्रकारहरुलाई सुरु गरेको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियानमा जिल्लाका कुल १७५२ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
जिल्लाका हरेक पालिकाहरुमा खोप केन्द्र संचालन गरेर सुरु गरिएको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियानमा कुल १७५२ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विरबहादुर श्रेष्ठले उज्यालो खबरलाई जानकारी दिए ।
दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियानको अन्तिम दिन आज मात्रै ५०४ जनाले खोप लगाएका छन । ३७२ जना पुरुष र १३२ जना महिलाले आज खोप लगाएको श्रेष्ठले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालयले दोस्रो चरणमा जिल्लाका लक्षित समूहका करिव ३ हजार जनालाई खोप लगाउने तयारी गरेपनि अपेक्षा गरेको समूह नै खोप लगाउन नआएको पाईएको छ । स्थानीय जनप्रतिनिधि, सरकारी कर्मचारी र राष्टको चौथो अंग मानिने पत्रकारहरु समेत खोप अभियानमा खुलेर सहभागी नभएको कार्यालयले जनाएको छ ।
नवलपुरमा रहेका कुल पत्रकारहरु मध्ये जम्मा ३७ जनाले मात्रै कोरोना विरुद्धको खोप लगाएको कार्यालयको भनाई छ । दोस्रो चरणको खोप कार्यक्रम औपचारिक रुपमा आजदेखि सकिएको भएपनि छुटेकाहरुको हकमा भोलिसम्ममा केहि निर्णय गरिने जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप ७० प्रतिशत प्रभावकारी मानिएको छ ।

तपाईको प्रतिक्रिया