चितवन । चितवनको भरतपुर–१ स्थित नारायणी नदीकिनारमा टप फाइभ मुवाँ थाई फाइट सम्पन्न भएको छ । नेपालका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मुवाँ थाई खेलाडीमध्येको उत्कृष्ट पाँच वटा फाइट चितवन मुवाँ थाई संघले आयोजना गरेको थियो । प्रतियोगितामा पुरुषतर्फ पाँच तथा महिलातर्फ एउटा प्रो फाइट प्रतिस्पर्धा गराइएको थियो । शनिबार आयोजित प्रतिस्पर्धाको ६० किलो तौल समूहमा नेपाल आर्मीका गुणराज रुचाल विजयी भएका छन् । उनले काठमाडौँका बरुण घलेलाई पाराजित गरेका हुन् ।
त्यस्तै, ५३ किलो तौल समूहमा काठमाडौँका लाक्पा तामाङ विजयी भएका छन् । उनका प्रतिस्पर्धी चितवनका कविन देशार दोस्रो राउण्डमा घाइते भएपछि तामाङलाई विजयी घोषण गरिएको थियो । त्यसैगरी, ५७ किलो तौलसमूहमा चितवनका रोहित शाही विजयी भएका छन् । उनले काठमाडौँका दावा फुर्जे तामाङलाई पराजित गरेका हुन् । त्यसैगरी ५१ किलो तौल समूहमा काठमाडौँका सन्दिप तामाङ विजयी भएका छन् । उनले चितवनका सनिल चौधरीलाई पराजित गरेका हुन् । प्रतियोगितामा ८० केजी तौलसमूह (हेभी वेट)तर्फ सलम लेप्चा विजयी भएका छन् । उनले रसिक जारीलाई पराजित गरेका हुन् । महिला फाइटतर्फ भने सुकेधारा मुवा थाई क्लबकी डेनिका राई विजयी भएकी छिन् । उनले चितवनकी नतिशा रानामगरलाई पराजित गरेकी हुन् ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको चितवन मुवाँ थाई संघका अध्यक्ष उत्तम गुरुङले जानकारी दिनुभयो । त्यसैगरी, प्रतियोगितामा सहभागी भएका खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिएको उहाँको भनाइ छ । शनिबार प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेशसभा सदस्य घनश्याम दाहालले गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन गर्दै दाहालले वाग्मती प्रदेशले खेलाडीहरुलाई पेन्सनको व्यवस्था गर्नेगरी काम गरिरहेको बताउनुभयो । राष्ट्रका लागि खेल्ने खेलाडीहरुलाई खेल जीवन निवृत्तपछि जीवन यापनमा सहज होस् भनेर उनीहरुका लागि पेन्सनको व्यवस्था गर्न लागिएको दाहालले बताउनुभयो ।