गैँडाकोट । नवलपरासी पश्चिम प्रहरीले आज अन्दाजी ५ लाख ४ हजार ४ सय मुल्य बराबर अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ ।दिउँसो २ बजेको समयमा नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख ५८ हजार ४ सय मुल्य बराबरको ३८ बोरामा १९ क्वीन्टल मटर र ४ बोरामा ८० के.जी मुरली मकै ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियाबाट बरामद गरेको हो डिएसपी लाजु लामाले जानकारी दिए ।
उक्त मटर र मकै मोटरसाईकलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मानिस मोटरसाईकल सहित भागेकाे उनले बताए ।
त्यसैगरी दिउँसो अन्दाजी २ बजेको समयमा भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी ३ लाख ४६ हजार मुल्य बराबरको ४६ थान सिलिक पर्दा र १९ रोलमा ९५० मिटर पोलिष्टर तन्नाको कपडा ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले सुस्ता गांउपालिका वडा नं.१ छघरे स्थित सिसौं घारीबाट बरामद गरेको छ ।आज बरामद सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।