×

काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।

यसै सन्दर्भमा कांग्रेसले विहिबार ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै छ । नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले आज आयोजना गर्न लागेको ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ सम्बन्धी भर्चुअल कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवासमेत सहभागी हुँदैछन् ।

के हो मेलमिलाप दिवस ?

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए ।

तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।

त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।

तपाईको प्रतिक्रिया