×

भरतपुर । गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुधृढ बनाउने बताउनु भएको छ । प्रेस संगठन चितवनले आज सोमबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने बताउनुभयो ।

उहाँले पार्टी कुनै पनि हालतमा नफुट्ने दावी गर्दै भन्नुभयो “पार्टी फुट्ने त प्रश्नै उठ्दैन अरु सुधृढ भएर जान्छ ।” नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचिवालय सदस्य समेत रहनु भएका गृहमन्त्री थापाले पार्टीभित्रको विरोधलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गर्नुभयो ।

फरक प्रसंगमा उहाँले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि उनीहरुका मृगतृष्णा मात्रै भएको बताउनुभयो । राजावादीहरुको गतिविधि व्यवस्था विरोधी र प्रतिपक्षले  गर्न लागेको प्रदर्शन सरकार विरोधी भएको उहाँले बताउनुभयो । पछिल्लो समय कोभिडले उत्पन्न गरेको संकटबाट संविधानविरोधी शक्तिहरु व्यवस्था

प्रणाली र संविधानलाई उल्ट्याउने अवसर आएको भन्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “त्यही अनुसार उनीहरुले यो राजनीतिक उपलब्धीलाई उल्ट्याउनका लागि सक्रिय भएको देखिन्छ ।”राजावादीहरुको गतिविधिहरु र अरु शक्तिहरु पनि सतहमा आईरहेको भन्दै उहाँले थप्नुभयो “सरकार विरोधी पनि अहिले सलबलाईरहेका छन् । यसै सन्दर्भमा प्रतिपक्षले देशव्यापी रुपमा आज सरकार विरोधी प्रदर्शन गर्दैछ ।” उहाँले अगाडि भन्नुभयो “उनीहरुले सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्तापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन ।”

नेपाली जनताले उनीहरुको सपनालाई कदापी पूरा हुन नदिने उहाँको भनाई छ । राजावादीहरु गणतन्त्र विरोधी भएको र विप्लव समूह यो व्यवस्था स्थापित गरेर उनीहरुको भाषामा समाजवादी क्रान्ति गर्ने भन्ने रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया