×

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित भएको छ ।

अस्ति शुक्रबार देउवासँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिषद्को बैठक बोलाउनुभएको थियो । तर हिजो देउवाले आफू पार्टी कार्यक्रमका कारण बैठकमा आउन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई गराउनुभएको छ ।

देउवाले पार्टीको कार्यक्रमले आफू उपस्थित नहुने बताए पनि सत्तारुढ दलभित्रको अन्तरसङ्घर्ष र भागबण्डा नमिल्दा संवैधानिक परिषद्को बैठक अनिश्चित बनेको हो । कांग्रेसले अख्तियार तथा निर्वाचन आयोग र अरु निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने अडान लिएको छ ।

यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाभित्रको विवाद हल नभएसम्म परिषद् बैठकमा नजान देउवासँग आग्रह गरेको बुझिएको छ । यही कारण देउवाले संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने निर्णय लिनुभएको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया