बुटवल । रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको शुक्रबार राति ११:२५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए । उनी मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।
यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको शुक्रबार राति १०ः२० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। गौतमले बताए । उनी पनि मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२० र कपिलवस्तुमा १८ पुगेको छ ।
उता कोरोना संक्रमणबाट गोरखा नगरपालिका–६ की ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ । उपचारको क्रममा शुक्रबार बेलुकी साढे आठ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ८ गते उनी अस्पताल भर्ना भएकी थिइन् । मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो । ‘उहाँ विगत दश महिनादेखि हिँडडुल गर्न नसक्ने र ओछ्यानमै पर्नु भएको अवस्था रहेछ,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘अस्पताल आउँदा उहाँको अवस्था निकै कमजोर र निमोनिया थियो, उपचारको क्रममा मृत्यु भयो ।’




















उज्यालो खबर











