बुधबार बिहान सम्पन्न खेलमा स्पीनरहरु मुजिव उर रहेमान र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दा जमैकाले गायनालाई ५ विकेटले पराजित गरेको हो । यसअघि जमैका गायनासँँग १४ रनले पराजित भएको थियो । लिगमा दोस्रो जित हात पारेको जमैकाले ४ खेलबाट ४ अंक नै जोडेको छ र चौथो स्थानमा यथावत छ ।
क्वीन्स पार्क ओभरमा भएको खेलमा जमैकाले गायनाले दिएको १०९ रनको लक्षय १८ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । जमैकाका लागि ओपनर ग्यारी फिलप्सले २६ र जर्मेन ब्ल्याकउडले २३ रन बनाए ।
यस्तै एनक्रम बोनेरले ३० र आन्द्रे रसेलले २३ रन योगदान गरे । दुवै खेलाडी अविजित रहे । यी दुईले छैटौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे । गायनाका नविल उक हकले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गायनाले २० ओभर खेल्दै ७ विकेट गुमाएर १०८ रन मात्र बनाएको थियो । जमैकाका लागि रोस टेलरले सर्वाधिक २३ रन बनाए । नविल उल हक २० रनमा अविजित रहे ।
गायनालाई कम स्कोरमा रोक्न जमैकाका मुजिव उर रहेमानले ४ ओभरमा १ मेडन राख्दै जम्मा ११ रन खर्चेर ३ विकेट लिए ।
यस्तै सन्दीप लामिछानेले ४ ओभरमा १२ रन मात्र खर्चेर १ विकेट लिए । सन्दीपले हालसम्म ४ खेलबाट ४ विकेट लिएका छन् । उनले यसअघिका ३ खेलमा १–१ विकेट लिएका थिए ।
प्याट्रिओट्सको पहिलो जित
लगातार तीन खेल हार्दै खराब सुरुवात गरेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले यस सिजन पहिलो जित हात पारेको छ । एभिन लेविसले ८९ रन बनाएपछि प्याट्रिओट्सले साविक विजेता बार्बेडोस् ट्राइडेन्ट्सलाई ६ विकेटले पराजित गर्दै २ अंक जोडेको हो ।
लेविसको उत्कृष्ट ब्याटिङमा प्याट्रिओट्सले १५२ रनको लक्ष्य १९.३ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । लेविसले ६० बल खेल्दै २ चौका र ९ छक्का प्रहार गरे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बेडोसले २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको थियो ।