×

नवलपुर : गैडाकोट नगरपालिकामा साढे २ वर्षका एक अबोध बालक जंगलबाट वेपत्ता भएका छन्। गैडाकोट–१४, माथिल्लो भागरस्थित मामाघरमा बस्दै आएका साढे २ वर्षका सिवान तामाङ मंगलवार बिहान ७ बजेदेखि वेपत्ता भएका हुन्।

हजुरआमा यामकुमारी आले मगरसँगै बस्दै आएका बालक, हजुरआमा च्याउ खोज्न स्थानीय शंखदेवी सामुदायिक वन गएको केही समयपछि उहाँलाई पिछा गर्दै जंगलतर्फ गएको स्थानीयले बताएका छन्। हजुरआमालाई पछ्याउने क्रममा उनले बाटो बिराएको आशंका गरिएको छ।

शंखदेवी सामुदायिक वनका कार्यालय सचिव जवारी सारु मगरले हालसम्म पनि बालकको अवस्था अज्ञात रहेको जानकारी दिएका छन्। बालक वेपत्ता भएपछि स्थानीय बासिन्दा र प्रहरीको टोलीले जंगलमा व्यापक खोजी जारी राखे पनि अहिलेसम्म कुनै सुराक फेला पर्न सकेको छैन। अबोध बालक जंगलमा हराएपछि अहिले सिंगो गाउँ नै चिन्तित र व्याकुल बनेको छ।

बालकका बुवा-आमा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्। उनी विगत डेढ वर्षदेखि मामाघरमै बस्दै र हुर्कंदै आएका थिए।

घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाद्वारा खोजी कार्यलाई तीव्र पारिएको छ। बालक सिवान तामाङलाई कतै भेट्टाउनु भएमा वा उहाँबारे केही जानकारी भएमा नजिकैको प्रहरी चौकी वा स्थानीय प्रशासनमा तुरुन्त खबर गरिदिन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया