×

काठमाडौं । नेपालको परराष्ट्र मन्त्रालय ले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको भन्ने सूचना गलत भएको स्वीकार गर्दै त्यसबाट उत्पन्न अन्योलप्रति माफी मागेको छ।मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासस्थित हिरासतमा रहेको तथा उनको मुद्दा स्थानीय अदालतमा विचाराधीन रहेको जनाएको हो।

मन्त्रालयका अनुसार अमेरिका, इजरायल र इरानबीच तनाव सुरु हुनुअघि नै गत जनवरीको सुरुमा झासहित ६ विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले क्युसिएम टापुबाट नियन्त्रणमा लिएका थिए।

यसअघि अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम सान्तीयले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको तथा रिहाइ पत्र जारी भइसकेको भनी अनौपचारिक जानकारी दिएका थिए। सोही सूचनाका आधारमा मन्त्रालयले झा रिहा भएको विज्ञप्ति जारी गरेको थियो भने तत्कालीन परराष्ट्र मन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेका थिए।

तर त्यसको केही दिनपछि अदालतले मुद्दामा विशेषज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको जानकारी प्राप्त भएपछि झा रिहा नभएको तथ्य खुलेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने अन्तिम तयारी गरिरहेको छ।

मन्त्रालयले झाको निष्पक्ष सुनुवाइ र कानुनी प्रतिरक्षाका लागि उपलब्ध सबै कूटनीतिक माध्यम प्रयोग गरी पहल जारी रहेको जनाएको छ। साथै गलत सूचनाका कारण झाको परिवार र सर्वसाधारणमा परेको अन्योलप्रति दुःख व्यक्त गर्दै परिवारलाई वास्तविक अवस्थाबारे जानकारी गराइसकिएको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया