नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) — जिल्लामा वृद्धको हत्या गरी लुटपाट गर्ने एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार देवचुली नगरपालिका–१६, टाँडीकोट टोलका ७५ वर्षीय जिराम थनेतलाई आफ्नै घरमा आक्रमण गरी हत्या गरेर सुनका गरगहना लुटपाट गरी फरार भएका संजय बिक पक्राउ परेका हुन्।
पक्राउ पर्ने संजय बिक बागलुङ जिल्ला, गलकोट नगरपालिका–९ का ३९ वर्षीय हुन्। उनलाई काठमाडौं महानगरपालिका–४, सुकेधाराबाट केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र विभिन्न प्रहरी इकाइको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार घटनापछि फरार रहेका उनलाई नियन्त्रणमा लिई नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेका व्यक्तिबाट नगद रु. ३ लाख ७५ हजार, विभिन्न ब्रान्डका ३ थान मोबाइल, ४ थान NTC सिम र ४ थान Ncell सिम बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट संजय बिक यसअघि पनि चोरी तथा हत्या सम्बन्धी मुद्दामा संलग्न रहेको र कास्की कारागारबाट फरार भएको पाइएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















उज्यालो खबर









