नवलपुरको गैंडाकोट–२ स्थित अक्सफोर्ड सेकेन्डरी स्कूल/अक्सफोर्ड कलेजले ‘OCEM SEE Fest 2026’ आयोजना गर्ने भएको छ। SEE परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रम वैशाख २२, २३ र २४ गते सञ्चालन हुने आयोजकले जनाएको छ।
“आवर भिजन इज टु सर्भ योर मिसन” भन्ने नारासहित हुन लागेको महोत्सवमा SEE दिएका विद्यार्थी तथा उनीहरूका साथीहरूलाई सहभागी हुन आह्वान गरिएको छ। कार्यक्रममार्फत विद्यार्थीहरूलाई मनोरञ्जनसँगै सिकाइ, नेटवर्किङ र प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।
अक्सफोर्ड कलेजका प्रचार्य प्राध्यापक इन्जिनियर डाक्टर हरी भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आत्मविश्वास विकास, सिर्जनात्मकता अभिवृद्धि र सहकार्यको भावना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
महोत्सवमा बास्केटबल, फुड स्टल, क्विज प्रतियोगिता, ‘रिल इट’ (फोटोग्राफी/भिडियो) र नृत्य प्रतियोगिता जस्ता विविध गतिविधिहरू समावेश गरिएका छन्। बास्केटबलतर्फ विजेताले १२ हजार रुपैयाँ र उपविजेताले ६ हजार रुपैयाँसहित MVP ट्रफी प्राप्त गर्नेछन्। क्विज प्रतियोगितामा तीन सदस्यीय समूह सहभागी हुन सक्नेछन्, जसमा विजेतालाई ५ हजार र उपविजेतालाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
त्यस्तै, ‘रिल इट’ विधामा विजेतालाई १२ हजार रुपैयाँ तथा नृत्य प्रतियोगितामा समूह र एकल दुवै विधामा विजेतालाई १२ हजार र उपविजेतालाई ६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न परिकारसहितको फुड स्टल पनि रहनेछ।
आयोजकका अनुसार महोत्सवले विद्यार्थीहरूबीच मित्रता विस्तार, नयाँ अनुभव र सिर्जनात्मकता अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास लिइएको छ।




















उज्यालो खबर










