×

काठमाडौँ – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)लाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको छ।

यूएईको रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार आक्रमणमा नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक जना नागरिकले ज्यान गुमाएका हुन्। मृतकहरूको परिचय हालसम्म सार्वजनिक गरिएको छैन।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले एक नेपाली नागरिकको मृत्यु भएको सरकारी जानकारी प्राप्त भएको पुष्टि गरे। “एक जना नेपाली नागरिकको मृत्यु भएको जानकारी पाएका छौं। उहाँको परिचयबारे थप विवरण संकलन भइरहेको छ,” उनले बताए।

रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरेको छ। यूएईको हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गरे पनि ३५ वटा ड्रोन विभिन्न स्थानमा खसेका थिए।

तीमध्ये २१ वटा ड्रोन नागरिक बस्ती तथा भौतिक संरचनामा खस्दा मानवीय तथा भौतिक क्षति भएको मन्त्रालयले जनाएको छ।

घटनामा नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तानलगायत १५ देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्। मन्त्रालयका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया