पर्सा – विशेष सूचनाका आधारमा पर्सा प्रहरीले ठूलो परिमाणमा चरेश बरामद गर्दै एक जना व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट ३१९ केजी चरेश बरामद गरिएको हो।
काठमाडौँबाट वीरगञ्जतर्फ गइरहेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकमा लागुऔषध चरेश लोड गरी ल्याइएको भन्ने विशेष सूचना प्रहरी चौकी सिर्सिया पर्साका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक गगन बहादुर शाहीलाई प्राप्त भएपछि, प्रहरी उपरीक्षक गौतम मिश्रको निर्देशनमा जिल्ला प्रहरी कार्यालय पर्सा र सिर्सिया चौकीबाट संयुक्त टोली खटिएको थियो।
उक्त टोलीले साँझ ७:३० बजे, वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकमा ट्रकलाई रोकेर जाँच गर्दा ट्रकको पछाडिको भागमा सेतो प्लास्टिकको बोरामा लुकाइएको १३ पोका चरेश फेला पारेको हो। तौल गर्दा ती पोका ३१९ केजी रहेको पर्सा प्रहरीले जानकारी दिएको छ।
प्रहरीले ट्रक चालक मकवानपुर, थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तानलाई घटनास्थलमै नियन्त्रणमा लिएको छ। चालकको हाफ पाइन्टको खल्तीबाट नगद रू. १,९२,००० पनि बरामद गरिएको छ।
पक्राउ परेका चालकसहित ट्रक, लागुऔषध चरेश, नगद र मोबाईल फोन प्रहरीको नियन्त्रणमा रहेको छ। पक्राउ परेका स्याङ्तानमाथि लागुऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




















उज्यालो खबर











