पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आइतबार बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका छन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेश गर्ने समय दिएका थिए ।
अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।
मुख्यमन्त्री दाबीका लागि सभामुखको प्रयोग गर्नु असंवैधानिक भएको नेपाली कांग्रेसले बताएको छ । आइतबार अपराह्न मात्रै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोशी प्रदेशको नजीर स्मरण गराउँदै प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । उनको पत्रमा असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरिएको छ ।



उज्यालो खबर




