गैँडाकोट- पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको नगरभित्रको एकमात्र “क” बर्गको गैँडाकोट इङ्लिस स्कुलले आधुनिक बगैचा निर्माणको तयारी गरेको छ । स्कुल परिसरभित्र निर्माण गर्न लागिएको बगैचा शैक्षिक सत्र २०८१ भित्र सम्पन्न गरिसक्ने स्कुलको तयारी छ ।
स्कुलका सहायक प्राचार्य नवराज कंडेलले गेट देखि नै विद्यालयको अग्रभागमा आधुनिक बगैचा निर्माणको तयारी गरिएको जानकारी दिनुभयो । बगैचामा विभिन्न प्रजातीका बोटविरुवा तथा फुलहरु रोपिने उहाँले बताउनुभयो । बोटविरुवा र फुलहरुलाई हुर्काउनका लागि विद्यालय परिसरभित्रै विद्यार्थीहरुले उत्पादन गरेको प्राङ्गारिक (गड्यौला) को मल प्रयोग गरिने छ ।
बगैचा निर्माण गर्नका लागि स्कुलले ३० लाख रुपैया खर्च लाग्ने अनुमान गरेको छ । सहायक प्राचार्य कंडेलले बगैचाको एकछेउमा विद्यालयको परिचय सहितको आधुनिक प्रतिक्षालय समेत निर्माण गरिने बताउनुभयो ।
सुन्दर र हरित विद्यालयको परिकल्पना गर्दै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले समेत देशैभरका सामुदायीक तथा नीजि विद्यालय परिसरमा अनिवार्य बगैचा बनाउनु पर्ने प्रस्ताव गरेको छ । आयोगले विद्यालयमा पर्याप्त जग्गा नभएपनि बरण्डा, कोठा, छत, कौसीलगायतमा फूल र विरुवा लगाई हरित र सुन्दर बातावरण बनाउनुपर्ने उल्लेख गरेको छ ।
गैँडाकोट इङ्लिस स्कुलमा १३ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १२५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । स्कुलले विश्वबजारले माग गरे अनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।




उज्यालो खबर




