काठमाडौं- वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आइतबार मनाइँदैछ।आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्ले समय सभ्य बन्दै गएको छ।
सडकमा कामविशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ।
यस पर्वका अवसरमा आइतबार काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। चीरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मयलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु प्रारम्भ हुन्छ।
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दस पाथी चामलको भात र एउटा राँगाको मासु खुवाइ सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भस्म भएकी, तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको दन्त्यकथा यो पर्वसँग जोडिएको छ।
त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षस्नी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भइ मारिएको निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौं रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व छ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ।
होली पर्वका अवसरमा थकालीहरू रङ्गीचङ्गी पोसाकमा सजिएर सपरिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन्। सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाइ रमाइलो गरिन्छ।
यसैबीच जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व ९होली० लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ ।
होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन्।
होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन ९लापसे० गरी सवारी चलाउने, मादक पदार्थ सेवन ९मापसे० गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
‘हामीले सभ्य, भव्य तरिकामा फागु पर्व मनाउन सबैमा आग्रह गरेका छौँ । कानुन विपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने छ,’ उनले भने।
यस वर्षको होली पर्वका लागि २ हजार ५ सय पोसाकधारी र ५ सय सादा पोसाकका गरी तीन हजार प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
होली खेल्नेहरुको समूह तथा भीडमा सादा पोसाकका प्रहरी ठूलो सङ्ख्यामा परिचालन हुने भएकाले कोही कसैले पनि कानुन विपरीतका गतिविधि गरेको पाइए तत्काल पक्राउ गरिने प्रहरी उपरीक्षक अधिकारीले बताए।
‘काठमाडौँका विभिन्न वडामा शान्त वातावरणमा पर्व मनाउन आग्रहसहित माइकिङ गर्दै आएका छौँ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘हाम्रो चाहना भनेको शान्त र सभ्य होली मनाउनूस् भन्ने हो । हाम्रो आग्रहलाई अटेर गरी कानुन विपरीत क्रियाकलाप गरेमा कानुनी दायरामा ल्याउने छौँ।’
अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा सोमबार बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिने एसपी अधिकारीले जानकारी दिए।
त्यस्तै अनुमतिबिना रङ दल्ने, लोला हान्ने, जिस्काउनेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।



उज्यालो खबर




