नवलपपुर । नवलपुरको देवचुलीमा प्रथम पिप्रहर माघी मेला हुने भएको छ । पिप्रहर सामुदायिक होमस्टे ग्राम र होटल,होमस्टे तथा पर्यटन व्यवसायी समितिको संयुक्त आयोजनामा पौष २९ देखि माघ २ गतेसम्म देवचुली १७ पिप्रहर गाउँमा ३ दिने प्रथम माघी मेला आयोजना गर्न लागिएको हो।
ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न, परम्परागत खानाका परिकारहरु बिक्री गरि स्वरोजगारलाई टेवा दिन,आय आर्जन तथा जिविकोपार्जनको विकास गर्न,खेलको विकास गरि युवाहरुको व्यक्तित्व विकास गर्न,स्थानीय कलाकारहरुलाई उजागर गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको मेला मुल आयोजक समितिका अध्यक्ष पलट प्रसाद चौधरीले जानकारी दिनुभयो ।
मेलामा स्थानीय तथा परम्परागत खानका २५ वटा स्टलहरु रहने चौधरीले बताउनुभयो । चौधरीका अनुसार मेलाको प्रमुख आकर्षकका रुपमा स्थानीय परम्परागत खानाका परिकार बिक्रीका लागि प्रदर्शन,मेला अवधिभर भलिबल प्रतियोगिता,स्थानीय तथा युवा कलाकारद्वारा मनोरञ्जन प्रदान गरिने,विभिन्न उद्योग व्यवसायहरुको उत्पादन बिक्रीका लागि प्रदर्शन,मेलाको अवधिमा होटल,होमस्टे तथा रेष्टुरेन्टहरुमा अग्रिम बुकिङ्ग गरि आउने पाहुनालाई विशेष छुट प्रदान गरिने लगायत रहेका छन् ।
तीन दिनसम्म संचालन हुने मेलामा १० हजार मानिसहरु मेलाको अवलोकनमा आउने र करिब १५ लाख खर्च लाग्ने अनुमान छ । पौष २९ गते मध्यान्न १२ वजे गण्डकी प्रदेशका कृषिमन्त्री महेन्द्रध्वज जिसीले मेलाको उद्घाटन गर्ने कार्यक्रम छ ।



उज्यालो खबर




