×

गैँडाकोट । अविरल वर्षाका कारण ठाँउठाँउमा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोर अन्तर्गत गैंडाकोट नगरपालिका ३ मा रहेको हिउँदे खोला नजिकै सेतो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा करिडोर भएर आवतजावत गर्ने यात्रुहरु तथा सवारीसाधनहरु बीचबाटोमै अलपत्र परेका छन् ।

आज राति करिब २ बजेदेखि सडक अवरुद्ध बनेको छ । छोटो र आरामदायी यात्राका लागि कालीगण्डकी करिडोर सडकखण्ड भएर धेरैले यात्रा गर्ने सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ ।जिल्लाको पहाडी पालिकाबाट सदरमुकाम जोड्ने उक्त सडक अवरुद्ध हुदा पहाडी पालिका बुलिङटार र बौदिकाली गाउँपालिकालाई थप समस्या परेको बुलिङटार बासिन्दा अर्जुन पुलामी मगरले बताउनु भयो ।

करिडोरको पाल्पा, नवलपुरको बौदिकाली, बुलिङटार, गैंडाकोट हुदै नारायणगढ, काठमाडौं लगायतका स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन् । यसैगरी दलदले बुलिङटार जोड्ने सडक अन्तर्गत बुलिङटार ४ ढोङ्ग्रे स्थित गएको पहिरोले उक्त सडक पनि अवरुद्ध भएको छ ।सडक माथिबाट पहिरो खस्ने क्रम जारी रहेकोले आज पहिरो हटाउन असहज भएको बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताउनु भयो ।

तपाईको प्रतिक्रिया