चितवन । सामाजिक संस्था नेपाल लिटिल फ्लावर सोसाईटीले माडी नगरपालिका वडा नम्बर ९ स्थित बांँदरझुलाका विपन्न तथा चेपाङ्ग समुदायका २२० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । ती समुदायको दैनिक जीवन सहज होस भन्ने हेतुले आज सोसाईटीले शान्ति मेड नेपालको सहयोगमा खाद्यान्न वितरण गरेको हो ।
आज हरेक घरधुरीलाई १ बोरा चामल, र ३ केजी दाल वितरण गरेको लिटिल फ्लावर स्कुल सेहरी नवलपरासीका प्राचार्य फादर रोवी क्युले जानकारी दिनुभयो । यसको साथै ती विपन्न परिवारका १७५ विद्यार्थीलाई पोषण वितरण गरिएको छ ।
खाद्यान्न वितरण कार्यक्रममा सोसाईटीका निर्देशक फादर विविन, फादर ज्याकव, फादर रिन्स र सचिव गोविन्द पौडेल सहभागी हुनु भएको थियो । सो अवसरमा माडी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम दवाडीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन स्थानीय बिनोद चेपांङले गर्नुभएको थियो ।
गतसाता पनि सोसाईटीले शक्तिखोर र मकवानपुरको राक्सीराङ्ग का विपन्न तथा चेपाङ्ग समुदायलाई खाद्यान्न वितरण गरेको थियो भने शुक्रबार नारायणगढ मुग्लिन सडकमा अलपत्र परेका यात्रुहरुलाई ६ सय यात्रुहरुलाई पानी र बिस्कुट वितरण गरेको थियो । कोरोनाकालमा समेत सोसाइटीको सक्रियतामा चितवन , मकवानपुर र नवलपरासी गरी १ करोड भन्दा बढीको खाद्य तथा शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
नेपाल लिटल फ्लावर सोसाइटीले शिक्षा, स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । सोसाइटी मातहत नेपालमा चारवटा विद्यालयहरु सञ्चालनमा रहेका छन् ।




उज्यालो खबर




