×

गैँडाकोट । जयश्री च्यारिटी नेपालले यहि वैशाख ३० गते बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएकाे छ । गैँडाकोट ९ स्थित जयश्री फुड्स प्रालिको प्राङ्गणमा वैशाख ३० गते शनिबार बिहान ७ बजेदेखी रक्तदान कार्यक्रमको आयोजना गरिएको जयश्री फुड्सका सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले जानकारी दिनुभयो ।

बढ्दो रक्तअभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । यसअघि पनि जयश्री फुड्स तथा च्यारिटी नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै उहाँले रक्त अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनि रक्तदान कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

जयश्री फुड्सले यसअघि पनि नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ । गैँडाकोट ९ स्थित नवजागरण ग्रामिण विकास केन्द्रको सहयोगमा रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गरी मानवीय सहयोग जस्तो पुण्य कार्यमा सरिक भइदिनहुन योग्य रक्तदातालाई जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले आग्रह गर्नुभएको छ ।

५ वर्षअघि २०७५ सालमा काठमाडौँ महानगरपालिकामा दर्ता भएको जयश्री च्यारिटी नेपाल गैरनाफामुलक सामाजिक संस्था हो । यसले कोभिडका बेला गरिएको लकडाउनका समयमा देशका विभिन्न स्थानमा राहत वितरण गर्नुका साथै मठ मन्दिर निर्माण, विकासका कार्यमा हातेमालो, स्कुलमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, असहाय व्यक्तिलाई सहयोग गर्ने लगायतका कार्य गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया