गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा नयाँ वर्षदेखि सञ्चालनमा आएको मौलाकाली केवलकारको औपचारिक उद्घाटन बैशाख १८ गतेहुने भएको छ ।बैशाख १८ गते विहान ११ वने नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले केबलकारको उद्घाटन गर्ने कार्यक्रम रहेको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिनुभयो ।
केबलकारमा दुइतर्फी मूल्य (आउन र जान) रु ५५० कायम गरिएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ ज्येष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको (अपाङ्ग) लागि रु २७५ को टिकट दर रहेको छ । केवलकारले सार्वजनिक गरेको यो टिकटको मूल्य केहिसमयका लागि मात्रै हो ।
मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बच्चाबच्चीहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ । मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आईएमइ पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फत समेत टिकट प्राप्त गर्नसक्नेछन् ।
गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डुला रहेका छन् ।केवलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ । केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ । केवलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् ।
केबलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ ।नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ ।



उज्यालो खबर




