गैँडाकोट । नवलपुरको गैँडाकोट स्थित नारायणी नदी किनारमा व्यवस्थित तटबन्ध गर्नको आउदो सातादेखि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ । नदीको नारायणगढतर्फको किनारमा ‘रिभर बिच मोडल’मा तटबन्धसहितको संरचना बन्दै गर्दा सोही संरचनाका कारण बर्खायाममा नदीको वहाव बढ्दा गैंडाकोट क्षेत्र डुबानमा पर्ने दावी गर्दै स्थानीयहरु गैंडाकोट बचाऔं संघर्ष समिति गठन गरि आन्दोलमै उत्रिएका थिए ।
नारायणी नदी व्यवस्थापन आयोजना, गैंडाकोट नगरपालिकाका र गैंडाकोट बचाऔं संघर्ष समितिबीच गैंडाकोटतर्फ नारायणी नदी किनारमा तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउने गरी ३ बुँदे सहमति भएको छ ।स्थानीयका माग सम्बोधन गर्ने गरी काम अगाडि बढाउने सहमति भएको आयोजना प्रमुख गणेश मरासिनीले बताउनुभयो ।
नदीको नारायणगढतर्फ संरचना बनाइँदा डुबानको जोखिम झनै बढ्ने स्थानीयको चिन्तालाई गम्भीर रुपमा लिँदै आगामी साताभित्रै उपभोक्ता समिति गठन गरी तटबन्धको प्रक्रिया अगाडि बढाइने सहमति भएको उहाँले जानकारी दिनुभयो ।‘नारायणी नदीको पुलबाट उत्तरतर्फ रिभर बीच मोडलमा बन्दै गरेका संरचनाको दीर्घकालीन व्यवस्थापनका लागि समेत गैंडाकोट क्षेत्रमा पनि संरक्षणका कार्यहरु अघि बढाउनुपर्ने आवश्यकता महसुस गर्दै आयोजनाकै तर्फबाट आउने एक साताभित्र तटबन्धको डीपीआर प्रक्रिया अघि बढाइने मरासीनीको भनाई छ ।
गैंडाकोटमा शुक्रबार भएको छलफलमा आयोजना प्रमुख, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरु, संघर्ष समितिका संयोजक, विभिन्न राजनितिक दलका प्रतिनिधिलगायतको सहभागीता रहेको थियो । सहमतिपछि संघर्ष समितिका संयोजक गोकुल सापकोटाले आन्दोलनका सबै कार्यक्रम तत्काललाई स्थगन गरेको जानकारी दिनुभयाे । बर्खायाममा गैंडाकोट नगरपालिकाको वडा–१ र २ स्थित बोटे टोल र ब्रिटिस क्याम्प क्षेत्रमा नारायणी नदीको बाढी पस्दै आएको छ ।



उज्यालो खबर




