गैँडाकोट । गैँडाकोट दोस्रो नगरस्तरीय मेयरकप फुटवलमा आज पनि २ खेलहरु हुुँदैछन् । प्रतियोगिता अन्तर्गत आज विहान हुने पहिलो खेलमा गैँडाकोट वडा नं.१० र गैँडाकोट वडा नं. १२ विच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
त्यसैगरी आजै दिउसो ३ वजेपछि सुरु हुने दोस्रो खेलमा गैँडाकोट वडा नं. ९ र गैँडाकोट वडा नं. १४ विच प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा गैँडाकोट वडा नं. १ र वडा नं. ७ विजयी भएका थिए ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ जारी नगरस्तरीय मेयरकप फुटवलमा नगरका १८ वटै वडाका २३ वर्ष मुनिका प्रतियोगीहरु सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने समूहलाई ३५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक गैँडाकाेट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले उज्यालाे खबरलाई जानकारी दिनुभयाे ।
त्यसैगरी खेल अवधिभर उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।गैँडाकोट नगरपालिकाको प्रर्वद्धनमा हुन लागेको प्रतियोगिताको नगर युवा सञ्जाल गैँडाकोटले समन्वय गरेको छ भने सहयोगी संस्थामा गैँडाकोट ४,५ र ८ युवाक्लव रहेको छ ।



उज्यालो खबर




