×

गैँडाकोटको बीचभागमा फैलिएको विशाल परिसर। भत्किएका भवन, झारले ढाकिएका संरचना र सुनसान बनेको उद्योग क्षेत्र। कुनै समय कामदारको चहलपहलले भरिने भृकुटी कागज कारखाना अहिले खण्डहरजस्तै बनेर उभिएको छ। वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको कारखानाको यो दृश्य देख्दा स्थानीयवासीहरूमा एउटै प्रश्न उब्जिन्छ— “यति ठूलो सम्पत्ति आखिर कहिलेसम्म यसै छोडिने ?”

यही प्रश्नलाई केन्द्रमा राख्दै सुन्दर शान्त हरियाली गैँडाकोट अभियान ले कारखानाको मुख्य प्रवेशद्वारमा एक सातादेखि बृहत् नागरिक हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलिरहेको अभियानमा स्थानीयवासी, पूर्व मजदुर, युवा तथा विभिन्न क्षेत्रका नागरिकले सहभागिता जनाइरहेका छन्। हालसम्म करिब एक हजार जनाले हस्ताक्षर गरिसकेको अभियान पक्षले जनाएको छ।

अभियानको नेतृत्व गरिरहेका गणेश सापकोटाका अनुसार अभियानको मुख्य उद्देश्य खण्डहर बनेको भृकुटी कागज कारखानालाई यसै छोड्न नहुने सन्देश दिनु हो। उनका अनुसार कारखानाको ५२ बिघा जग्गालाई उचित रूपमा व्यवस्थापन गर्नुपर्ने, उद्योग क्षेत्रलाई संरक्षण गर्दै उपयोगमा ल्याउनुपर्ने तथा लामो समयदेखि रोकिएको मजदुरहरूको तलब तत्काल भुक्तानी गर्नुपर्ने माग अभियानले उठाएको छ।

कुनै समय सयौं मजदुरको रोजगारीको आधार बनेको यो उद्योग बन्द भएपछि धेरै परिवार प्रत्यक्ष प्रभावित भएका थिए। कारखानामा वर्षौं श्रम गरेका मजदुरहरू अहिले पनि आफूले पाउनुपर्ने पारिश्रमिकको प्रतीक्षामा छन्। अभियानमा सहभागीहरू राज्यले मजदुरको पसिनाको सम्मान गर्नुपर्ने बताउँछन्।

कारखानाको मुख्य गेटमा अहिले फरक दृश्य देखिन्छ। बिहान हिँड्न निस्किएका नागरिक केही समय रोकिन्छन्, अभियानबारे चासो राख्छन् र हस्ताक्षर गरेर समर्थन जनाउँछन्। कतिपयले “यति ठूलो सम्पत्ति खेर जान दिनु हुँदैन” भन्दै सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताएका छन्। स्थानीयवासीका अनुसार भृकुटीको विशाल क्षेत्र प्रयोगविहीन राखिनु गैँडाकोटकै लागि दुर्भाग्यपूर्ण विषय बनेको छ।

अभियन्ता सापकोटाले सम्बन्धित निकायले मागप्रति चासो नदिए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्। उनका अनुसार हस्ताक्षर अभियानपछि दबाबमूलक कार्यक्रम सडक हुँदै सिंहदरबारसम्म पुग्न सक्छ। यसअघि पनि सापकोटाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइसकिएको छ।

स्थानीयहरूको भनाइमा भृकुटी कागज कारखाना अब केवल बन्द उद्योगको कथा होइन, व्यवस्थापनको पर्खाइमा रहेको राष्ट्रिय सम्पत्ति बनेको छ। त्यसैले उनीहरू अहिले एउटै आवाज उठाइरहेका छन्— खण्डहर बनेको भृकुटीलाई यसै छोड्ने होइन, उचित व्यवस्थापन गरेर उपयोगमा ल्याउनुपर्छ।

तपाईको प्रतिक्रिया