गैँडाकोट- नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारमा चौथो गैँडाकोट महोत्सव भव्य रूपमा सुरु भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा क्षेत्रका पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव आगामी माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोट, नवलपुरको आयोजनामा सञ्चालन गरिएको यस महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका करिब २५० वटा विभिन्न प्रकारका स्टलहरू राखिएका छन् । महोत्सवमा घरेलु तथा साना उद्योगका उत्पादन, कृषि उपज, हस्तकला सामग्री, खाद्य परिकार, कपडा, भाँडाकुँडा तथा अन्य उपभोग्य सामग्रीहरू उपलब्ध रहेका छन् । यसले स्थानीय व्यवसायी तथा उद्यमीलाई आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
महोत्सव सुरु हुनु पूर्व आज बिहान गैँडाकोट नगरपालिकाको परिसरबाट वृहत झाँकीसहितको शोभायात्रा निकालिएको थियो । शोभायात्रा काँग्रेसचोक, कालीगण्डकी चोक, पुलचोक हुँदै महोत्सव स्थल नारायणी नदी किनारमा पुगेर समापन भएको थियो । शोभायात्रामा हात्तीसहित विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
महोत्सव प्रचार–प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार शोभायात्रामा गैँडाकोट क्षेत्रभित्रका करिब ३५० भन्दा बढी सङ्घसंस्थाको सहभागिता रहेको थियो । सहभागी सङ्घसंस्थाका प्रतिनिधिहरूले आफ्नो–आफ्नो सांस्कृतिक पहिचान झल्कने भेषभूषा, कला तथा झाँकीसहित शोभायात्रामा सहभागिता जनाएका थिए । यसले स्थानीय कला, संस्कृति र पहिचानलाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको उहाँले बताउनुभयो ।
महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुति तथा विभिन्न खेलकुद र प्रतियोगिताहरू समेत आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउने, पर्यटन प्रवद्र्धन गर्ने र गैँडाकोटलाई राष्ट्रिय स्तरमा चिनाउने विश्वास लिइएको छ ।





उज्यालो खबर



